दमौली तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका–३ निवासी ७२ वर्षीय दुर्गा ठकुरीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । लामो समयदेखि पहिचानविहीन ठकुरीलाई आँबुखैरेनी गाउँपालिकाको पहलमा नागरिकता प्रदान गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमान संरक्षक बनेर उहाँलाई नागरिकता प्रदान गरिएको वडाध्यक्ष दिनेश केसीले जानकारी दिए । उनले भने, “७० वर्ष पहिला आँबुखैरेनी आएकी उनको परिवारका बारेमा कसैलाई पनि जानकारी छैन । सबैले दुर्गा ठकुरी भनेर चिन्नुहुन्थ्यो, नागरिकता नहुँदा पहिचानविहीन भएपछि नागरिकता बनाउन सहजीकरण गरेका हौँ ।”
वडाध्यक्ष केसीले सबै आवश्यक प्रक्रिया पूरा गरेर प्रशासन कार्यालयमा सोमबार उनलाई नागरिकता प्रदान गरिएको जानकारी दिए । “उन कोसँग यहाँ आए, उनको परिवार को हो भन्ने कसैलाई थाहा छैन । खैरेनीमा सिङ्गापुरे लाहुरे भनेर चिनिने घरमा मात्र ४० वर्ष बसे ।”बाबुआमाको पहिचान नखुलेकी महिलालाई आवश्यक सबै प्रक्रिया पूरा गरी नागरिकता प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।
तनहुँमा उद्योग दर्ता घट्यो
जिल्लामा एक वर्षमा पाँच सय ९६ उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा उद्योगतर्फ तीन सय आठ र वाणिज्यतर्फ दुई सय ८८ दर्ता भएको पर्यटन तथा उद्योग कार्यालय दमौलीले जनाएको छ ।
उद्योग तथा वाणिज्य दर्ता गत आव २०८०/८१ मा भन्दा आव २०८१/८२ मा कम भएको कार्यालय प्रमुख दुर्गाराज सुवेदीले जानकारी दिनुभयो । आव २०८०/८१ मा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ गरी सात सय ७१ उद्योग दर्ता भएका थिए । आव २०८१/८२ मा एक हजार नौ सय छ उद्योग नवीकरण भएका छन् भने वाणिज्यतर्फ एक हजार सात सय ३५ उद्योग नवीकरण भएको सुवेदीले बताए ।
उनका अनुसार उद्योगतर्फ साउनमा ३३, भदौमा ३९, असोजमा ३२, कात्तिकमा २५, मङ्सिरमा ३१, पुसमा २४, माघमा १५, फागुनमा २४, चैतमा २०, वैशाखमा २९, जेठमा २५ र असारमा ११ उद्योग दर्ता भएका छन् । वाणिज्यतर्फ साउनमा ५३, भदौमा २१, असोजमा २४, कात्तिकमा २०, मङ्सिरमा २३, पुसमा २५, माघमा १९, फागुनमा २३, चैतमा २२, वैशाखमा २१, जेठमा २२ र असारमा १५ दर्ता भएका छन् ।
कार्यालयले एक वर्षमा रु ८४ लाख ८१ हजार ४२५ राजस्व सङ्कलन गरेको छ । उद्योग दर्ता, नवीकरण, संशोधनलगायतबाट कार्यालयमा राजस्व सङ्कलन हुने गरेको सुवेदीको भनाइ छ । साउनमा रु १३ लाख ७४ हजार ४५०, भदौमा रु आठ लाख ६८ हजार ५००, असोजमा रु नौ लाख पाँच हजार १००, कात्तिकमा रु चार लाख ३५ हजार ९००, मङ्सिरमा रु छ लाख ४५ हजार ४००, पुसमा रु सात लाख २४ हजार ४७५, माघमा रु चार लाख ८७ हजार ४५०, फागुनमा रु छ लाख ५६ हजार ६५०, चैतमा पाँच लाख २२ हजार २५०, वैशाखमा रु चार लाख ४२ हजार ५०, जेठमा रु चार लाख ९० हजार ९०० र असारमा रु नौ लाख २८ हजार ३०० राजस्व सङ्कलन भएको छ ।
प्रतिक्रिया