प्रधानमन्त्री ओली दुई सातापछि चीनको भ्रमणमा जाने

प्रधानमन्त्री ओली दुई सातापछि चीनको भ्रमणमा जाने

काठमाडौं एक्सप्रेस

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली दुई सातापछि चीनको भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार ओली चीनमा हुने शङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने तयारीमा छन्।

दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय भेटवार्ता गर्ने सम्भावना रहेको छ। यसअघि उनले मंसिर १७ गते चीनको चारदिने औपचारिक भ्रमण गरेका थिए।

नेपाल सन् २०२० देखि एससिओको संवाद साझेदारको रूपमा रहँदै आएको छ। सन् २००१ मा स्थापना भएको एससिओमा हाल बेलारुस, चीन, भारत, इरान, काजाकिस्तान, किर्गिस्तान, पाकिस्तान, रूस, ताजिकिस्तान र उज्बेकिस्तान गरी १० देश सदस्य छन्। नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, अर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया र युएईलगायत १४ देश भने संवाद साझेदारका रूपमा आवद्ध छन्।

आगामी सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित सदस्य राष्ट्रका शीर्ष नेताहरूको सहभागिता रहनेछ। चीन भ्रमण सम्पन्न गरी फर्किएलगत्तै प्रधानमन्त्री ओली भदौ ३१ गते भारतको भ्रमणमा जाने कार्यक्रम रहेको छ। त्यसअघि, भदौ १ गते भारतका परराष्ट्र सचिव विक्रम मिश्री काठमाडौँ आउने तय भएको छ।

Logo