नेपालमा भ्रष्टाचारभन्दा पनि ठूलो समस्या ढिलासुस्ती हो: शंकर पोखरेल

नेपालमा भ्रष्टाचारभन्दा पनि ठूलो समस्या ढिलासुस्ती हो: शंकर पोखरेल

काठमाडौं एक्सप्रेस

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालमा भ्रष्टाचारभन्दा पनि ढिलासुस्ती गम्भीर समस्या रहेको बताएका छन्। उनले ढिलासुस्तीले राज्यको स्रोतसाधनको दुरुपयोग बढाउने मात्र नभई आर्थिक अनियमिततालाई पनि प्रश्रय दिने दाबी गरे।

शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अर्थ तथा योजना विभाग र उपभोक्ताहित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भने, “भ्रष्टाचार त समस्या हो तर त्यसभन्दा ठूलो समस्या ढिलासुस्ती हो। ढिलासुस्तीले राज्यलाई ठूलो नोक्सानी पुर्‍याउँछ। मेलम्ची खानेपानी आयोजना यसको ज्वलन्त उदाहरण हो, जहाँ ढिलासुस्तीले भ्रष्टाचारभन्दा ठूलो क्षति गरेको छ।”

उनले काम नगर्ने र जिम्मेवारी पूरा नगर्ने मानिसलाई ‘इमान्दार’ ठान्ने गलत संस्कार समाजमा व्याप्त रहेको भन्दै त्यसलाई तोड्नुपर्ने आवश्यकता औंल्याए। “जसले काम गर्दैन, उसलाई इमान्दार ठान्ने भ्रमबाट समाज मुक्त हुनुपर्छ। काम नगर्नु भनेको इमान्दार हुनु हो भन्ने धारणा बदल्नुपर्छ,” पोखरेलले स्पष्ट पारे।

कार्यक्रममा उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी, संसदको लेखा समितिका सभापति ऋषिकेश पोखरेललगायतले पनि सहभागिता जनाउँदै ढिलासुस्ती नियन्त्रण, सुशासन र पारदर्शी कार्यप्रणाली सुनिश्चित गर्न सुझाव प्रस्तुत गरेका थिए।

Logo