विश्वव्यापी जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी समूह (आईपीसीसी) सातौँ मूल्यांकन प्रतिवेदनका लागि नेपालका ८ जना वैज्ञानिकहरू चयन भएका छन् । जलवायु परिवर्तन सम्बन्धिको वैज्ञानिक निकाय आईपीसीसीले जलवायु विज्ञान सम्बन्धी नयाँ विषयको जानकारी र जलवायु परिवर्तनले आगामी दिनहरूमा विश्वमा के कस्ता असर पार्न सक्छ भन्नेबारे व्याख्या गर्दछ । संसारभरीका वैज्ञानिकहरूले स्वयंसेवी रूपमा काम योगदान गर्ने आईपीसीसीले निकाल्न लागेको सातौँ प्रतिवेदन हो ।
सातौँ मूल्यांकन प्रतिवेदनको विभिन्न च्याप्टहरू लेखनका लागि लागि त्रिभुवन विश्वविद्यालयबाट सहप्राध्यापकद्वय डा. सुदीप ठकुरी र डा. नारायण गैरे छनोट भएका छन् । दुवै त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञानका सहप्राध्यापक हुन् ।
मूल्यांकन प्रतिवेदन लेखनमा ईसीमोडबाट डा. भूपेश अधिकारी र डा। अमिना महर्जन, फिम इटालीबाट डा. शोभा पौडेल, नेदरल्यान्डमा कार्यरत ग्रोनिङजेन विश्वविद्यालयका उपप्राध्यापक डा. प्रजल प्रधान, सीआईएमएमवाईटीबाट डा. टेक सापकोटा विभिन्न च्यापटरहरूको मुख्य लेखकको रूपमा छनोट भएका हुन् ।
आईपीसीका कार्यगत समूह १ का उपाध्यक्ष डा. महेश्वर रुपाखेती च्यापटर- ३ को रिभ्यू इडिटर चयन भएका छन् । रूपाखेती जर्मनीमा रहेको रिफ्स इन्स्टच्युटमा कार्यरत छन् ।
आईपीसीसीले निकाल्न लागेको विशेष प्रतिवेदनहरुमा अन्य दुई जना नेपाली अनुसन्धानकर्ताहरू पनि संलग्न छन् । जसमा प्राध्यापक डा. शोभकार ढकाल जलवायु र सहर शिर्षकको प्रतिवेदनमा मुख्य लेखक चयन भएका छन् । यस्तै, डा. भूपेन्द्र दास इन्भेन्टोरी फर सर्ट लिब्ड क्लाइमेट फोर्सर्सका लागि मुख्य लेखक छन् । यो प्रतिवेदन सन् २०२७मा सार्वजनिक हुनेछ ।
आईपीसीसीमा तीनवटा कार्यगत समूह हुन्छन् । यी समूहले जलवायु विज्ञान र जलवायु परिवर्तनको प्रतिक्रियासम्बन्धी विभिन्न पक्षहरुमा केन्द्रित रहेर काम गर्दछन् । पहिलो समूहले जलवायु परिवर्तनको भौतिक विज्ञानको अध्ययन गर्छ, दोस्रो समूहले जलवायु परिवर्तनको असर र अनुकूलनको पक्षलाई केलाउँछ भने तेस्रो समूह जलवायु परिवर्तनको न्यूनीकरणमा केन्द्रित रहन्छ । तीनै समूहले आआफ्ना छुट्टाछुट्टै प्रतिवेदन तयार पार्छन् । पछि ती प्रतिवेदनलाई एकीकृत गरी एउटा मिश्रित प्रतिवेदन बनाइन्छ ।
यतिको संख्यामा नेपाली अनुसन्धानकर्ताहरू धेरै भएको यो उपलब्धि व्यक्तिगत स्तरमा मात्र नभएर राष्ट्रिय स्तरमा पनि महत्वपूर्ण मानिन्छ । विज्ञान लेखक एवं वातावरण अध्येता गोविन्द प्रसाद पोखरेलका अनुसार अहिलेसम्म कहिल्यै यति धेरै नेपाली वैज्ञानिकहरूले विश्वव्यापी जलवायु एजेन्डा निर्धारण गर्ने अवसर पाएका थिएनन् । उनीहरूको विशेषज्ञता सरकारी निर्णय, जलवायु नीतिहरू लगानी र दीर्घकालीन जलवायु कार्यहरूमा मार्गदर्शन गर्न सक्ने उनले बताए ।
यस्तै, पछिल्लो छैठौँ मूल्यांकन प्रतिवेदनमा नेपालबाट चार जना मुख्य र विशेष प्रतिवेदन लेखनका लागि छनौट भएका थिए । सातौँ प्रतिवेदनका लागि १० जना नेपाली वैज्ञानिकहरूको प्रतिनिधित्व हुनुले राम्रो सन्देश दिएको जलवायु क्षेत्रमा लागेकाहरू बताउँछन् ।
कार्यगत समूह १ का उपाध्यक्ष समेत रहेका अनुसन्धानकर्ता डा. महेश्वर रूपाखेती संवेदनशील राष्ट्रका रूपमा नेपालले ऐतिहासिक उपलब्धि हासिल गरेको बताउँछन् । उनी भन्छन्,’विश्वव्यापी रुपमा प्रतिस्पर्धामार्फत आठ जना नेपाली वैज्ञानिकहरू चयन हुनु नेपाली वैज्ञानिकहरू वैज्ञानिक क्षमता, विश्वासनियता कायम भएको हो । हाम्रा आवाज, ज्ञान र नेतृत्व अब विश्वव्यापी जलवायु एजेन्डा निर्माणमा र जलवायु परिवर्तन विरुद्ध लड्न निर्णायक रूपमा उदाएका हुन् ।,’
सन् २०२३ मा रुपाखेती आईपीसीसी ब्युरोमा निर्वाचित भएपछिको यो नेपालका लागि अर्को उपलब्धी हो । उनले यो व्यक्तिगत गर्वको विषय मात्र नभई सम्पूर्ण नेपालको गौरव र शक्तिको प्रतीक रहेको बताए । वैज्ञानिकहरूको छनोटले प्रमाणमा आधारित जलवायु रणनीतिहरू निर्माण गर्न सहयोग पुग्ने बताइएको छ ।
प्रतिक्रिया