मोरङ, । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवअधिकारको संरक्षण र संवर्द्धन गर्ने कार्यमा जिम्मवारीपूर्वक कार्य गर्नुपर्ने बताएका छन् ।
व्यवसाय र मानवअधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना २०८० र ८५ कार्यान्वयन सम्बन्धी आज यहाँ आयोजित अन्तक्र्रियामा उनले राज्यमात्र नभई सबै पक्षको मानवअधिकारको संरक्षणमा जिम्मेवारीपूर्वक भूमिका रहेको विचार राखे ।
उहाँले सरकार नीतिनियम निर्माण र सहजीकरणका लागि जिम्मेवार रहने स्पष्ट पार्दै यसका लागि सरकारले आफ्नो भूमिका निर्वाह गर्ने बताए । मुख्यमन्त्री कार्कीले अन्तरराष्ट्रिय सन्धि र सम्झौतासँग मेल खानेगरी ऐन, नियम तथा कानुन बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिँदै श्रमिक र व्यवसायको संरक्षणमा सरकार तयार रहेको बताए । उनले भने, “मानवता र अधिकारको उच्च सम्मान गर्नुपर्छ ।”
मुख्यमन्त्री कार्कीले सबै मिलेर यस क्षेत्रमा सकारात्मक पहल गर्नुपर्ने आवश्यकता औँल्याए । कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न सके व्यवसाय र मानवअधिकार संरक्षण सुदृढ हुने बताए ।
सन् २०११ मा संयुक्त राष्ट्रसङ्घले व्यवसाय र मानवअधिकारसम्बन्धी मार्गदर्शन सिद्धान्त पारित गरेपछि विश्वका विभिन्न देशमा यससम्बन्धी अवधारणा कार्यान्वयन हुँदै आएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव निश्चलराज पाण्डेले व्यवसाय र मानवअधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना र यसले समेटेका विषय र विभिन्न तहका सरकारले खेल्नुपर्ने भूमिकाका विषयमा चर्चा गरे ।
प्रतिक्रिया