पार्टीप्रतिको सकारात्मक माहोललाई सङ्गठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन

पार्टीप्रतिको सकारात्मक माहोललाई सङ्गठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन

काठमाडौं एक्सप्रेस

काठमाडौँ,। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्गठन निर्माणको निम्ति आत्मसमिक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पार्टीको सुदूरपश्चिम प्रदेश समिति सचिवालयको बैठकलाई आज भर्चुअल माध्यमद्वारा सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीभित्र उठेका विभिन्न बहस, सङ्गठनात्मक अवस्था र आगामी रणनीतिबारे विस्तृत धारणा राखे थिए । उनले पार्टीले पछिल्लो समय जनतामाझ फेरि विश्वास हासिल गरिरहेको भए पनि त्यसलाई सङ्गठनमा रूपान्तरण गर्न सके मात्रै दीर्घकालीन उपलब्धि सम्भव हुने बताए ।

अध्यक्ष दाहालले भने, “अब सबै नेता–कार्यकर्ताले गाउँबस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्नुपर्छ, पार्टीभित्र आत्मसमीक्षा र आलोचना–आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउनुपर्छ । विगतका कमजोरीको समीक्षा गर्नुपर्ने आवश्यकता छ ।”

पार्टी सरकारमा रहँदा हासिल गरिएका उपलब्धि, त्यसपछिको खबरदारी अभियान तथा जनसङ्गठनहरूले सञ्चालन गरेका गतिविधिका कारण माओवादीप्रति जनविश्वास पुनः बढेको अध्यक्ष दाहालले बताए । उनले भने, “हामीले सरकारमा हुँदा गरेका काम र अहिले सडकबाट उठाएका आवाजकै कारण जनभावना सकारात्मक बनेको छ, अब त्यसलाई सशक्त सङ्गठनमार्फत संस्थागत गर्नु जरुरी छ ।”

सङ्गठन निर्माणलाई अबको अभियानको मूलधार मानेर निर्वाचनमा जानुपर्नेमा अध्यक्ष दाहालले जोड दिए । सुदूरपश्चिम राजनीतिक र साङ्गठनिक हिसाबले माओवादी केन्द्रको सम्भावनायुक्त प्रदेश रहेको उल्लेख गर्दै उनले त्यहाँका नेता तथा कार्यकर्तालाई व्यवस्थित, योजनाबद्ध रुपमा परिचालन गर्नुपर्ने आवश्यकता भएको औँल्याए ।

सो अवसरमा पार्टीका उपमहासचिव तथा सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोख्रेलले सुदूरपश्चिममा पार्टीको भावी रणनीति, साङ्गठनिक विस्तार तथा स्थानीय तहसम्मको पहुँच विस्तारबारे स्पष्ट कार्ययोजना प्रस्तुत गरेका थिए ।

Logo