तीन तहका सरकारबीच सम्बन्ध सुदृढ हुन आवश्यक छ : मुख्यमन्त्री कँडेल

तीन तहका सरकारबीच सम्बन्ध सुदृढ हुन आवश्यक छ : मुख्यमन्त्री कँडेल

काठमाडौं एक्सप्रेस

कर्णाली, । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सुदृढ हुन आवश्यक रहेको बताएका छन् ।

कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको प्रशिक्षण परिषद्को आज सुर्खेत वीरेन्द्रनगरमा बसेको तेस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यले विकास र समृद्धिको गन्तव्यमा पुग्ने बाटो नै सहज हुने बताए । उनले तीनै तहबीचको सुदृढ सम्बन्धले मात्रै सङ्घीयताको मर्मअनुसारको लक्ष्य पूरा हुने उल्लेख गरे ।

मुख्यमन्त्री कँडेलले भने, “सङ्घ र प्रदेशले गर्ने विकास कार्यको कार्यान्वयन क्षेत्र स्थानीय तह हो । यसलाई जिम्मेवार र सक्षम बनाउनुपर्छ । यसो हुन सके मात्र जनतालाई सङ्घीयताको अनुभूति हुन्छ ।”

मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले सुरु गरेको योजना बैङ्कलाई स्थानीय तहले अनुसरण गर्न अनुरोध गरे । विगतको अनुभवबाट सिकेर तजबिजीका आधारमा योजना छनोट गर्ने प्रवृत्तिलाई सुधार गर्दै प्रदेश सरकारसँग भएको सीमित स्रोत र साधनलाई सही सदुपयोग गर्नुपर्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री कँडेलले कर्मचारी प्रशासनतर्फ सङ्केत गर्दै केवल समस्या देखाउने मात्र नभई समस्याको समाधानका उपाय पनि खोज्ने प्रवृत्ति विकास गर्नुपर्नेतर्फ जोड दिए । उनले भने, “समस्या देखाउन सजिलो हुन्छ तर त्यसको समाधानका लागि व्यावहारिक उपाय सुझाउनु अझ महत्त्वपूर्ण हुन्छ । विधि, थिति र कानुनको पालना गर्न सबैको कर्तव्य हो ।” सङ्घीय व्यवस्थालाई प्रभावकारी बनाउन कानुनी स्पष्टता र प्रक्रियागत पारदर्शिता अनिवार्य हुने उनले बताए ।

Logo