काठमाडौँ, । खासगरी बेलायत, भारत र नेपालको सार्वजनिक सेवालाई निजामती सेवा अर्थात सिभिल सर्भिस भनेर चिनिन्छ । सबै देशमा कुनै न कुनै नाममा सार्वजनिक सेवा त हुन्छ नै । कर्मचारीतन्त्र अर्थात अड्डातन्त्र भनेर चिनिने सरकारको स्थायी संरचना जसले सेवा प्रवाहको अलावा राजनैतिक पदाधिकारीहरूले अघि सारेको ‘भिजन’लाई नीति तथा कार्यक्रम कार्यान्वयन गर्दछ, त्यसको मियो नै निजामती सेवा हो । सार्वजनिक सेवा भित्रको जङ्गी र प्रहरी बाहेकको सेवा निजामती सेवा हो । नेपालको सन्दर्भमा भन्नुपर्दा सुरक्षा निकाय र सरकारी संस्थानमा रहेका जनशक्तिबाहेक अन्यलाई निजामती भनेर चिनिन्छ । खासगरी सङ्घीयता कार्यान्वयन गर्न जारी भएको वर्तमान संविधानको मर्मबमोजिम सङ्घीय निजामती सेवा ऐन जारी हुने क्रममा छ भने २०१३ भदौ २२ मा जारी भएको निजामती सेवासम्बन्धी पहिलो कानुन जारी भएको सम्झनामा प्रत्येक भदौ २२ का दिन निजामती सेवा दिवस मनाउदै आइएको छ । मुलुकमा राजनैतिक पदाधिकारीको रिक्तता भएका वखत होस् वा विपद वा महामारी भएका बखत समेत निजामती सेवा नै सरकारको उपस्थिति र राज्यप्रदत्त सेवा प्रदायकका रूपमा क्रियाशील रही आएको छ । दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य रहेको संविधान र अन्य विभिन्न विषयगत ऐन, नियम र कार्यविधिले सेवालाई दिशानिर्देश गरेको अवस्था छ ।
राष्ट्रप्रतिको जिम्मेवारी
नागरिक सेवाको गुणस्तर र प्रभावकारिताले नै सरकार वा अझ राजनैतिक प्रणाली नै सफल वा असफल भनेर चिनेने हुन्छ । नागरिकका दैनन्दिनका समस्या समाधान गर्दै विकास र समुन्नतिको वातावरण तयार गर्ने दिशामा सरकारले काम गरिरहेको छ भन्ने जनविश्वास कायम गर्न निजामती सेवकको भूमिकाले विशेष अर्थ राख्दछ । योग्यताका आधारमा सेवामा प्रवेश गर्ने र कार्यप्रकृयामा तटस्थताको अवलम्बन गर्ने भएको हुँदा राजनैतिक विचारधाराले विभाजित समाजमा भरोसा दिने र वस्तुगत आधारमा समस्याको सम्वोधन गर्ने पात्रको रूपमा कर्मचारीहरू देखा पर्दछन् ।
अहिलेको विश्वमा सेवाको ढाँचा र माध्यममा परिवर्तन भइरहेको छ भने सेवा प्राप्त गर्नेहरूको समेत अपेक्षा फेरिएका छन् । वातावरणमैत्री, विविधतामैत्री र सूचना प्रविधिमैत्री निजामती सेवाको माध्यमबाट राज्यप्रदत्त सेवालाई भरपर्दो र विश्वासिलो बनाउने चुनौती नेपाली निजामती सङ्गठनलाई छ । निजामती सेवाका सेवकले राजनैतिक अभिभावकहरूसँग राखेका अपेक्षा भनेको कानुनबमोजिम सम्पादन भएका कामहरूमा हौसला मिलोस् र अनावश्यक दबाब वा फरक व्यवहार नगरियोस् भन्ने रहन्छ भने सरकार÷राजनैतिक अभिभावकले निजामती सेवकबाट राखेका अपेक्षा भनेको यथासम्भव छोटो समयमा नागरिकका माग सम्वोधन गर्दै अनुशासित रहोस् भन्ने हुन्छ । सर्वसाधारण नागरिकले निजामती सेवकबाट राखेका अपेक्षा भनेको सुगम वा दुर्गम नभनी र कुनै पनि बहानामा सेवा अवरुद्ध नभई मनैदेखि सेवा वितरण भए हुन्थ्यो भन्ने हुन्छ ।
प्रशासनको उपस्थिति र क्रियाशीलताको भूमिकामा कर्मचारीहरूको अपरिहार्यता कायमै छ । निर्वाचनबाट चुनिएर शक्तिको अभ्यास गर्ने तथा विचाराधारा अनुसारका जनपक्षीय कार्य गर्न राजनैतिक अभिभावकसँगै रहेर नीति तथा कार्यक्रम मस्यौदा तयारी र कार्यान्वयनमा महसूस हुने गरी भूमिका खेल्ने र देशका विभिन्न स्थानमा पुगी नेपाली समाजको पिर व्यथामा सहभागी हुने अवसर निजामती सेवकले प्राप्त गरेकै छ । रुचि र क्षमताअनुसार देश वा विदेशमा उच्च शिक्षा हाँसिल गर्ने अवसर समेत प्राप्त हुन्छ । सन्ततिलाई उच्च शिक्षामा छात्रवृत्ति तथा परिवारका सदस्य सबैलाई निजामती कर्मचारी अस्पतालमा छुटसहित सेवा पाउने व्यवस्था पनि छ । राज्यको क्षमताअनुसार तलव भत्तामा पनि बढोत्तरी हुँदै गएको छ । निराश हुनुपर्ने र विदेश पलायन हुनुपर्ने अवस्था छैन ।
निजामती सेवाको शाख वृद्धि कसरी ?
निजामती सेवालाई साँच्चीकैको नागरिकको साथी तथा आशा भरोसाको केन्द्र बनाउनका लागि प्रारम्भ भएका कार्यहरूमा थप प्रभावकारी बनाउन जरुरी छ । यसका लागि सूचना प्रविधिले सिर्जना गरेका अवसरको उपयोग गर्दै नागरिकलाई सकेसम्म अनलाइन सेवा प्रदान गर्ने, कार्यालयका कामलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि कार्यटोलीको प्रयोग गर्ने, परिवेशअनुसार परिवर्तन व्यवस्थापनका लागि मत तयार गर्ने र पैरवी गर्ने, सेवाको विशिष्टीकरणसँगै सेवा प्रदायकमा व्यावसायिकता विकास गर्ने तथा सम्भव भएसम्म एकीकृत सेवा प्रवाहको मोडलमा सञ्चालन गर्ने उपायहरू विकल्पको रूपमा अपनाउन सकिन्छ । यसका साथै कार्यसम्पादन व्यवस्थापनलाई जोड दिने तथा विकासका पात्रहरूबीच सहव्यवस्थापन र सहउत्पादनको ढाँचा समेत प्रयोगमा ल्याउन कानुन तथा कार्यविधिमा समेत परिवर्तन गर्नुपर्ने देखिन्छ । यो रूपमा आफूलाई उभ्याउनका लागि निजामती सेवाले सूचनाको प्रवाह र सुरक्षित भण्डारण गरी सेवालाई अझ परिस्कृत गर्न सकिन्छ । साथै, जिम्मेवारी पन्छाउने, भ्रष्टाचार अदक्षता र ढिलासुस्ती, परिवर्तनलाई आत्मसात गर्नमा ढिलाई जस्ता प्रवृत्तिलाई हटाउन जरुरी छ ।
अहिलेका कर्मचारी भनेको कार्यपद्धतिका हिसाबले विश्वसनीय, व्यावसायिकरूपमा दक्ष, नैतिकताको दृष्टिले दृढ र कार्यपरिणाम तथा व्यवहारबाटै जनविश्वास जित्न सफल हुनुपर्दछ । त्यस्तै सार्वजनिक जीवनसम्बन्धी मापदण्ड निर्धारणका लागि बेलायतमा नोलान कमिटीले दिएका सात वटा सिद्धान्तहरूको पटकपटक प्रसङ्ग आउने गर्दछ, ती सातवटा मान्यताहरूका रूपमा स्वार्थहिनता, नैतिकता, वस्तुगतता, जवाफदेहिता, खुलापन, इमान्दारिता र उदाहरणीय नेतृत्वलाई अघि सारिएबाट एकआपसमा अन्तरसम्बन्धित यी सातवटा मान्यताहरू अवलम्बन हुनुपर्ने हुन्छ । सरल भाषामा भन्नुपर्दा सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीहरू आफ्नो कामको लागि जवाफदेही हुनु आवश्यक छ । व्यक्ति, समूह वा संस्थालाई सुम्पिएको जिम्मेवारी अनुरुप काम सम्पन्न भए नभएको सम्बन्धमा प्रतिवेदन, स्पष्टीकरण वा उत्तर दिनुपर्ने दायित्व नै सार्वजनिक जवाफदेहिता हो ।
खासगरी सङ्गठनमा कार्यरत व्यक्तिले आफ्नो कर्तव्यको पालना कसरी गरेका छन्, सङ्गठनको घोषित ‘भिजन’, उद्देश्य, सिद्धान्त र कानुनी सीमाबाट उनीहरूलाई पन्छिन नदिन के कस्तो संयन्त्र वा विधि निर्माण गरिएको छ, सो कुरा राज्य व्यवस्था सञ्चालनमा महत्वपूर्ण हुन्छ । जवाफदेहिताको अवस्था राम्रो हुनका लागि सेवा सञ्चालक र कर्मचारी स्वयं दुबै जिम्मेवार हुनुपर्दछ । हामी आफ्नो काममा जवाफदेही हुँदा नै हामी बलियो हुन्छौँ । मानिस स्वभावैले जवाफदेही नरहन वा किन काम भएन भनेर तर्क दिन र उम्कन दिग्गज हुने गर्दछ, जुन उसैका लागि हितकारी छैन ।
लोकतान्त्रिक सरकारमा उत्तरदायित्वको रेखा सरल र स्पष्ट हुने हुँदा निर्वाचनका बखत गरेका वाचाअनुरुप प्रतिनिधि र सरकार प्रमुखको छनोट जनताले गर्ने, सरकारले तिनै बाचा अनुरुप नीति र कार्यक्रम बनाउने, कर्मचारी संयन्त्रले त्यसको कार्यान्वयन गर्ने विधि तय भएको हुन्छ । आआफ्नो जिम्मेवारी यथासमयमा पूरा गर्नु नै जवाफदेहिताको सही थालनी हो भन्न सकिन्छ । त्यसैले जवाफदेही हुनु भनेको अरु केही नभएर भएका निर्णय, गरेका काम र तोकेको परियोजनाका सम्वन्धमा जिम्मेवार हुनु हो । जवाफदेहीताको सवभन्दा महत्वपूर्ण नतिजा भनेकै विश्वास हो । जव जवाफदेहिता वढेर जान्छ तब कामभन्दा बाहिरको विचलन रहँदैन अनि कामकै उत्पादकत्व बढेर जान्छ । जवाफदेहिताले स्वामित्व भाव समेत बढाउँछ । जवाफदेहिता प्रवद्र्धन गर्नका लागि प्रेरित गरिन्छ न कि दबाब वा नियन्त्रण । विश्वसनियता बढाउने अर्थात बोली र कर्मबीचको खाडल कम गर्नका लागि लक्ष्य एवं प्रष्ट मापदण्ड तयार गरी सबैलाई सञ्चार गर्ने अपेक्षाहरू तय गर्न दिने र प्रश्न सोध्ने जस्ता रणनीति अपनाउन सकिन्छ । व्यक्तिको व्यवहारले पनि जवाफदेही रहने वातावरणमा अन्तर आउन सक्छ । कुनै कामको परिणाम नराम्रो आउँदा अरुलाई दोष दिनुभन्दा क्षमाशील बन्न र सुधारका उपायहरू अवलम्वन गर्न सक्नु पर्दछ ।
सार्वजनिक निकायमा कार्यरत जनशक्तिले सेवाको शपथ लिँदा कानुन पालना गर्ने र इमान्दारितापूर्वक जिम्मेवारी पूरा गर्ने शपथ खाएको हुन्छ । सार्वजनिक कोषबाट चल्ने सङ्गठन भएको हुँदा के गर्न हुन्छ के गर्न हुँदैन भनेर सोचेर विचारेर मात्र अभिव्यक्ति दिने र आफूलाई निर्धारित कार्य गर्नुपर्ने हुन्छ । गलत आचरण अवलम्बन हुँदा भने कारवाही गर्ने विषय सेवासम्बन्धी कानुनमा पनि उल्लेख हुन्छ । गैरकानुनी र अनुशासनहीन काम गरेको अवस्थामा कारवाही गर्ने निकायहरू पनि छन् ।
सार्वजनिक सेवाको मूल्य प्रवद्र्धनमा निजामती सेवा
बेलायतमा सार्वजनिक सेवाका मूल्यका रूपमा पवित्रता, स्वयं उत्साह, सत्याङ्कन, प्रमाणमा आधारित, अवसरप्रति सचेत, जोखिमप्रति सावधान र सेवाप्रति निष्ठावान रहने विषयलाई समेटिएको छ । सेवाको मूल्य प्रवद्र्धनलाई नै निजामती सेवाको आविष्कारको माध्यमका रूपमा लिइएको छ, जसबाट हामीले पनि सिक्न र अवलम्बन गर्न सक्छौँ । त्यस्तै सुशासनका सूचकमा अब्बल उत्रने क्षमता भएको न्युजिल्याण्डको सार्वजनिक सेवामा निष्पक्ष रहनु, जवाफदेही हुनु, विश्वासिलो बन्नु, आदर भाव राख्नु र जिम्मेवारी लिनुलाई मूल्यका रूपमा अङ्गिकार गरिएको छ । त्यस्तै प्रशासन सुधारमा अगुवा मानिने मुलुक क्यानडाले पनि चारवटा मूल्यहरू पहिलो, लोकतान्त्रिक मूल्य ९सार्वजनिक हित गर्न मन्त्रीलाई सहयोग गर्ने प्रतिबद्धता०, दोस्रो व्यावसायिक मूल्य ९नागरिकलाई कार्यकुशल, निष्पक्ष, उत्कृष्ट र वस्तुपरक ढङ्गले सेवा दिने प्रतिबद्धता०, तेस्रो, नैतिक मूल्य ९नागरिकको भावना जित्ने गरी सधैँ निष्ठामा रहेर काम गर्ने प्रतिबद्धता० र चौथो, जनताको मूल्य ९सेवाग्राहीमा विनम्र, शिष्ट, आदरपूर्वक र निष्पक्ष व्यावहार गर्ने प्रतिबद्धता० लाई अवलम्वन गरेको छ ।
सार्वजनिक सेवा सञ्चालनका आफ्नै लिखित वा अलिखित ९प्रचलन० मूल्य मान्यताहरू हुन्छन् । सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐन, २०६४ को प्रस्तावनामा मुलुकको सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी तथा जनसहभागितामूलक बनाई त्यसको प्रतिफल सर्वसाधारणलाई उपलब्ध गराउन, कानूनको शासन, भ्रष्टाचारमुक्त र चुस्त प्रशासन, विकेन्द्रीकरण, आर्थिक अनुशासन तथा सार्वजनिक कार्य र स्रोतको कुशल व्यवस्थापन जस्ता असल शासनका आधारभूत मान्यतालाई आत्मसात् गरी सर्वसाधारणले पाउनु पर्ने सेवा छिटो, छरितो तथा कम खर्चिलो ढङ्गबाट पाउने अवस्था सृजना गर्न, सुशासन पाउने नागरिकको अधिकारलाई व्यवहारमा उतारी कार्यान्वयनमा ल्याउन र प्रशासन संयन्त्रलाई सेवाप्रदायक संयन्त्र तथा सहजकर्ताको रूपमा रुपान्तरण गरी मुलुकमा सुशासनको प्रत्याभूति दिने विषय समेटिएको छ । यसरी हेर्दा सार्वजनिक सेवाका आधारभूत मूल्यका रूपमा खासगरी सत्य, निष्ठा, निष्पक्षता, वस्तुपरकता, समानुभूति, इमान्दारिता, नेतृत्व विकास, पारदर्शिता, खुलापन, पेशागत सेवा, जिम्मेवारीपन, तटस्थता, स्वार्थरहितता, सार्वजनिक विश्वास, आचारसंहिता, सञ्चार, जवाफदेहिता, सार्वजनिक सेवाप्रतिको समर्पण भाव, कानुनी शासनको सम्मान जस्ता विषयहरू समेटिने देखिन्छ ।
निष्कर्ष
निजामती सेवा सार्वजनिक सेवा हो । निजामती सेवक बन्नु भनेको राष्ट्रसेवाको लागि अवसर हो । निजामती सेवा देशमा रहने अन्य सबै सेवाका लागि समेत मार्गनिर्देशक सेवा बन्न सक्नु पर्दछ । सार्वजनिक सेवा समयअनुसार सुधार पनि गर्दै जानुपर्ने क्षेत्र हो । सेवा सञ्चालनमा यदि भनाइ र गराइबीच ग्याप भयो भने विश्वसनीयता कमजोर हुँदै जान्छ । तसर्थ, कानुन वा अन्य कुनै माध्यमबाट घोषणा भएका सेवाका मूल्यहरूको परिपालना गर्न र मूल्यलाई सम्मान गरी कार्य जिम्मेवारीमा अग्रसर हुने जनशक्ति भर्ना गर्न र उसको वृत्ति अवधिभरि क्षमता विकास, परीक्षण र परामर्शको वातावरण दिन सकेमा मात्र सार्वजनिक सेवा भरोसायोग्य बन्ने हुन्छ । तीव्र रूपमा परिवर्तन भइरहेको समाज र नागरिकको अपेक्षासँग तादात्म्यता कायम गर्दै नवीन र सिर्जनशील ढङ्गले काम गर्ने निजामती सेवा अहिलेको माग हो । यसो भयो भने मात्र निजामती सेवाको शाख बढेर जान्छ । निजामती सेवा दिवस, २०८२ को शुभकामना ।
प्रतिक्रिया