प्रेस सेन्टरद्वारा रासस व्यवस्थापनसँग छलफल

प्रेस सेन्टरद्वारा रासस व्यवस्थापनसँग छलफल

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । राष्ट्रिय समाचार समिति (रासस)को व्यवस्थापन पक्षसँग प्रेस सेन्टर नेपालको केन्द्रीय कार्यसमितिले समाचार सामग्रीलगायत विभिन्न विषयमा छलफल गरेको छ । 

छलफलमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससका समाचार समाग्रीप्रति सरोकारवालाको चासो बढ्नु सकारात्मक विषय भएको बताउँदै यसले राससको साझा चरित्र थप विस्तारित भएको उल्लेख गरे। उनले भने, “म कार्यकारी अध्यक्षमा आइसकेपछि राससको सम्पादकीयमा कहीँकतै हस्तक्षेप गरेको छैन, राससलाई वाणीविहीनहरुको वाणी बनाउन लागेका छौँ ।” 

दैनिक ७०० समाचार, तस्बिर, श्रव्यदृष्यलगायत सामग्री सम्प्रेषण हुने राससमा समाचार शैली पुस्तिकाका आधारमा समाचार सामग्री र कार्यविधिका आधारमा स्ट्रिङ्गरको व्यवस्थापन गर्ने गरिएको अवगत गराए । 

राससका महाप्रबन्धक सन्दीप राईले निष्पक्षता र पारदर्शीता राससको मूलमन्त्र रहेको बताउँदै राससमा पूर्ण सम्पादकीय स्वतन्त्रता रहेको उल्लेख गरे । साथै, उनले नेपालको एकमात्र राज्यद्वारा सञ्चालित राससलाई दक्षिण एसियामै उत्कृष्ट बनाउने गरी थालनी गरिएको धारणा व्यक्त गरे । 

नायब महाप्रबन्धक सोमनाथ लामिछानेले राससमा कुनैपनि आधारमा समाचारमा भेदभाव नहुने गरेको स्पष्ट पार्दै सिर्जनशील समाचारदातालाई प्रोत्साहन गर्ने गरिएको उल्लेख गरे । प्रधान सम्पादक उत्तम सिल्वालले राससको समाचार सम्प्रेषण प्रक्रियाकाबारेमा अवगत गराउँदै रासस राज्यको भएकाले सबै वर्ग, क्षेत्र, आस्था, पक्ष र भूगोल समेटिने गरी समाचार सामग्री सम्प्रेषण गर्ने गरिएको बताए । 

प्रेस सेन्टर नेपाल केन्द्रीय अध्यक्ष कमल गिरीलगायत कार्यसमितिको टोली आज राससमा पुगी राससलाई सबै वर्ग, क्षेत्र, लिङ्ग, आस्थाकोे थप समावेशी हुनेगरी समाचार सामग्री सम्प्रेषण गर्न आग्रह गरेको हो । छलफलमा अध्यक्ष गिरीले राससले सरकारसँगै प्रतिपक्षका आवाजलाई पनि प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए । सेन्टरको टोलीले राससको अवलोकन गरी राससलाई थप समृद्ध, समावेशी र स्तरोन्नति बनाउने विषयमा सुझाव दिएको थियो । 

Logo