आन्तरिक उडान बन्द, अन्तरराष्ट्रियतर्फ आधा दर्जन विमान आकाशमै

आन्तरिक उडान बन्द, अन्तरराष्ट्रियतर्फ आधा दर्जन विमान आकाशमै

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । प्रतिकूल अवस्थाका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान पूर्ण रुपमा प्रभावित भएको छ । आन्तरिक उडान पूर्ण रुपमा ठप्प छ भने अन्तरराष्ट्रियतर्फका आधा दर्जन विमान आकाशमा ‘होल्ड’ भएका छन् । हिमालय एयरलाइन्सको विमान ‘डाइभर्ट’ भएको छ । 

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आजका लागि आन्तरिक उडान बन्द गरिएको छ । अन्तरराष्ट्रियतर्फका विमानबारे छिट्टै निर्णय लिइने उनले बताए । ‘फ्लाइट रार्डर’का अनुसार सिमरामाथिको आकाशमा ती विमानहरुले फन्को लगाइरहेका छन् । भारतको मुम्बईबाट आएको एयर इन्डिगो, नयाँ दिल्लीबाट आएको इन्डिगो र नयाँदिल्लीबाटै आएको भिस्तारा एयरलाइन्स होल्ड भएका छन् । 

यस्तै थाइल्यान्डको राजधानी बैङ्ककबाट आएको एयर एसिया, बैङ्ककबाटै आएको थाई लायन र बङ्गलादेशको राजधानी ढाकाबाट आएको विमान बङ्गलादेश होल्डमा बसेका हुन् । विमानस्थलको दक्षिणतर्फ ठूलठूला आगजनी र धुवाँको मुस्लो रहेकाले विमानस्थलको हवाई सुरक्षालाई मध्यनजर गदै हवाई उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । 

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बन्द

पछिल्लो विकसित परिस्थितिका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बन्द गरिएको छ । विमानस्थलका प्रवक्ता शेर्पाका अनुसार आज राति १ बजेसम्मका लागि विमानस्थलको सम्पूर्ण उडान बन्द गरिएको हो । विभिन्न गन्तव्यबाट आएका अन्तरराष्ट्रिय उडानका विमानहरु डाइभर्ट गरिएका छन् ।

अन्तरराष्ट्रिय विमानस्थल बिहान ६ देखि राति १ बजेसम्ममा सञ्चालन हुँदै आएको थियो । विमानस्थलको दक्षिणतर्फ ठूलठूला आगजनी र धुवाँको मुस्लो रहेकाले विमानस्थलको हवाई सुरक्षालाई मध्यनजर गर्दै हवाई उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । 

आन्तरिकतर्फ १२ हेलिकोप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् । ‘जेनजी पुस्ता’को प्रदर्शनले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आगजनी गरिएको छ ।

Logo