काठमाडौँ, । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘जेनजी’ पुस्ताको आन्दोलनमा सहादत प्राप्त गरेका सम्पूर्ण युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा शान्ति, धैर्य र सहमतिबाट मात्र निकास सम्भव हुने बताएका छन् ।
नेता खनालले बिहीबार एक विज्ञप्ति जारी गर्दै शोकाकुल परिवारजनप्रति समवेदना तथा सम्पूर्ण घाइतेहरूको शीघ्र र निःशुल्क उपचार गर्न माग गरे ।
आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड, लुटपाट र सर्वनाशका घटनाबाट मुलुक अहिले शान्तितर्फ फर्किरहेको उल्लेख गर्दै इतिहासमा जेनजी पुस्ताको आन्दोलनको समेत समीक्षा हुने भन्दै तात्कालिक अवस्थामा शान्ति कायम गरेर मुलुकलाई पुनःस्थापना र अग्रगतितर्फ लैजानै मुख्य कार्यभार रहेको बताए ।
शान्त, संयमित र धैर्यवान बन्न आग्रह गर्दै नेता खनालले मुलुकलाई नयाँ निकासतर्फ अघि बढाउन सर्वदलीय र सर्वपक्षीय प्रयास जरुरी रहेको उल्लेख गरे । उनले भेटघाट, वार्ता र सहमतिबाट संविधानलाई आधार बनाएर साझा नीति तथा कार्यक्रम निर्धारण गर्नुपर्ने विचार व्यक्त गरे । उनले सहमतिका आधारमा सर्वदलीय र सर्वपक्षीय सरकार गठन गरी देश, जनता र राष्ट्रलाई पुनःगठन, पुनःस्र्थापना, समृद्धि र समाजवादको दिशामा अघि बढाउन आग्रह गरे ।
प्रतिक्रिया