‘सहकार्य र समन्वयबाट नागरिकका आकाङ्क्षा सम्बोधन गर्न सकिन्छ’

‘सहकार्य र समन्वयबाट नागरिकका आकाङ्क्षा सम्बोधन गर्न सकिन्छ’

काठमाडौं एक्सप्रेस

काठमाडौँ,। राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले शान्ति, सहकार्य र आपसी विश्वासमार्फत समाज र नागरिकका आकाङ्क्षा सम्बोधन गर्न सकिने धारणा राखेका छन् । उपाध्यक्ष घिमिरेले सोमबार एक विज्ञप्तिमार्फत नागरिकले आफ्ना विचार सार्वजनिक गर्नु, माग प्रस्तुत गर्नु र असन्तुष्टि व्यक्त गर्नु नै लोकतान्त्रिक अधिकार भएको बताए ।

उनले कुनै पनि आन्दोलनले हिंसात्मक रूप लिँदा त्यसले समाजमा विभाजन, असुरक्षा र अविश्वास सिर्जना गर्ने उल्लेख गर्दै पछिल्लो पटक ‘जेनजी’ प्रदर्शनले समाजका केही गहिरा असन्तुलन र दीर्घकालीन समस्या उजागर गरेकाले त्यसलाई संवाद र सहकार्यको बाटोबाट सम्बोधन गर्न आग्रह गरे ।

उपाध्यक्ष घिमिरेले जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउने भाइबहिनी, सुरक्षाकर्मीलगायत सबैमा श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरे । साथै उनले आन्दोलनका सबै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

“देश सङ्कटपूर्ण अवस्थामा रहेको वर्तमान अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सही ठाउँमा पु¥याउँदैन । प्रदर्शनमार्फत उठाइएका माग, आवाज र असन्तुष्टिलाई लोकतान्त्रिक प्रक्रियाभित्र समेट्दै दिगो समाधानको बाटो खोज्नु हाम्रो सामूहिक जिम्मेवारी हो”, उपाध्यक्ष घिमिरेले विज्ञप्तिमार्फत भने ।

राज्यका निकायले नागरिकको आवाज सुन्ने, समस्या सम्बोधन गर्ने र दिगो समाधान खोज्ने प्रतिबद्धता जनाउन जरुरी रहेको उपाध्यक्ष घिमिरेको भनाइ छ । जेनजीको प्रदर्शनका क्रममा भदौ २३ र २४ गते भएको घटनाको गहिरो अनुसन्धान गरी दोषीमाथि कारबाही हुनुपर्नेमा जोड दिनुभयो ।

प्रदर्शनका क्रममा पनि सार्वजनिक र निजी संरचना जोगाउन सहयोग गर्ने सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दै उपाध्यक्ष घिमिरेले जेनजी प्रदर्शनबाट उत्पन्न परिस्थितिको सामना गर्दै शोकलाई शक्तिमा बदल्दै नयाँ नेपाल निर्माणमा सबै जुट्न आह्वान गरे ।

युवापुस्ता, महिला, सीमान्तकृत समुदाय तथा विपन्न वर्गका आवाजलाई नसमेटी लोकतन्त्रलाई बलियो बनाउन नसकिने भएकाले नीतिनिर्माण र कार्यान्वयनमा सर्वसमावेशी दृष्टिकोण अपनाउँदै विगतका कमजोरी आत्मसात् गरेर भविष्यतर्फ जिम्मेवार ढङ्गले अघि बढ्न उनले सबैलाई आह्वान गरे ।

Logo