काठमाडौं – जेनजी आन्दोलनका क्रममा नेपाली सेनाको निगरानीमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सार्वजनिक गतिविधिमा सक्रिय देखिन थालेका छन् ।
प्रचण्ड सोमबार पेरिसडाँडास्थित आफ्नै दलको जलेको केन्द्रीय कार्यालय पुगे । आन्दोलनका क्रममा आगजनी भएको पार्टी मुख्यालयको अवलोकन गर्दै उनले क्षतिग्रस्त संरचनाको अबलोकन गरेका थिए ।
माधव नेपाल पनि आन्दोलनपछिको अवस्थामाथि अवलोकन गर्न व्यस्त छन् । उनले आलोकनगरस्थित पार्टी कार्यालयदेखि आफ्नो घर, कान्तिपुर टेलिभिजन र नेताहरू शंकर पोखरेल, प्रेम आले, अग्नि खरेल, झलनाथ खनाल, जीवनराम श्रेष्ठ, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे र रघुजी पन्तका घरसम्म पुगेका छन् । यीमध्ये धेरै घरहरू आन्दोलनकै क्रममा जलेका थिए ।
स्रोतका अनुसार दुवै नेतालाई सेनाले सिंहदरबारस्थित ब्यारेकमा एक दिन मात्र राखेको हो। त्यसपछि उनीहरू आफन्तको घरमा बस्दै आएका छन् । “शिवपुरी वा भैरवनाथ गणमा नजरबन्द गरिएको भन्ने हल्ला मात्रै थियो,” स्रोतले भन्यो।
हाल दुवै नेता पार्टी गतिविधि र क्षतिग्रस्त संरचनाको अवलोकन गर्दै सार्वजनिक जीवनमा फर्किन थालेका छन्। तर सुरक्षाका कारण प्रचण्डले प्रायः दिनहुँ आफू बस्ने स्थान परिवर्तन गर्ने गरेको माओवादी स्रोतको भनाइ छ।
प्रतिक्रिया