काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को आकार ११ जनाभन्दा नबढाउने घोषणा गरेकी छन् । उनले अब बन्ने मन्त्रीहरू कुनै पनि राजनीतिक दल वा दलसम्बद्ध व्यक्तिहरूबाट नहुने प्रष्ट पारेकी छन् ।
बीबीसी नेपाली सेवासँगको विशेष अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले भनिन्, “मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा नराख्ने र कसको के क्षमता छ, त्यो अनुसार जिम्मेवारी दिने हो ।”
हालसम्म तीन जना मन्त्रीले शपथ ग्रहण गरिसकेका छन् । कार्कीका अनुसार अब थपिने मन्त्रीहरूमा समावेशिता झल्किने गरी विभिन्न क्षेत्रका व्यक्तिहरूलाई ल्याइनेछ। “पोलिटिक्समा नरहनु भएका, कुनै संस्थामा काम गरेका र गैर–राजनीतिक व्यक्तिहरूलाई मन्त्री बनाउन खोजिरहेका छौं,” उनले बताइन् ।
उनले चुनाव नलड्ने व्यक्तिलाई मन्त्री बनाउने तयारी भएको स्पष्ट पार्दै भनिन्, “राजनीतिक आबद्धता भएका व्यक्तिलाई मन्त्री राख्दा चुनावी काममा फोकस नहुने भएकाले नन्–पोलिटिकल मान्छे ल्याउने हाम्रो सोच हो।”
कार्की नेतृत्वको अन्तरिम सरकार गठनपछि मन्त्रिपरिषद् विस्तारका विषयमा राजनीतिक वृत्त र जनस्तरमा चासो बढेको छ।
प्रतिक्रिया