काठमाडौं – जेनजेड आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनी गरिएको भाटभटेनी सुपरमार्केटको अवस्थाबारे अर्थमन्त्री रामेश्वर खनालले प्रत्यक्ष अवलोकन गरेका छन् । मंगलबार अर्थमन्त्री खनाल कोटेश्वरस्थित भाटभटेनी शाखामा पुगेका थिए ।
अवलोकनका क्रममा अर्थमन्त्री खनालले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई भेटेर सान्त्वना दिए । उनले घटनाबाट आक्रान्त नबनिई पुनःस्थापना र सेवा निरन्तरतर्फ दृढतापूर्वक अघि बढ्न प्रेरणा दिएको जनाइएको छ।
भाटभटेनीका सञ्चालक गुरुङले मन्त्रीको उपस्थितिले आफूहरूलाई हौसला मिलेको प्रतिक्रिया दिए । “भौतिक संरचना भत्किए पनि भाटभटेनीको आत्मा कहिल्यै टुट्दैन। यो घटनाले अझ सबल भएर पुनःनिर्माण गर्ने प्रेरणा दिएको छ,” उनले भने।
जेनजेड आन्दोलनका क्रममा देशभरका विभिन्न शाखाहरूमा तोडफोड, लुटपाट र आगजनी गरिएको थियो। यद्यपि, आगजनीबाट जोगिएका शाखाहरू अहिले पुनः सञ्चालनमा आएका छन्।
भाटभटेनी सुपरमार्केटले आफ्नो पहिचान केवल पसलको रूपमा नभई परिवारका रूपमा रहेको उल्लेख गर्दै, पुनः पुरानै विश्वास, माया र प्रतिबद्धतासहित सेवा दिन तयार रहेको घोषणा गरेको छ।
प्रतिक्रिया