काठमाडौँ – संविधानविद्, अधिकारकर्मी र बौद्धिक व्यक्तिहरूले नेपालको वर्तमान संविधानलाई समयसापेक्ष संशोधन गर्दै पूर्ण कार्यान्वयन गर्नु नै मुलुकको उन्नति र स्थायित्वको आधार भएको बताएका छन्। संविधान दिवसका अवसरमा राससले राखेको जिज्ञासामा उनीहरूले संविधानको रक्षा गर्नु आजको प्रमुख दायित्व भएको धारणा व्यक्त गरेका हुन् ।
विसं २०७२ असोज ३ गते जारी नेपालको संविधानको स्मरणमा प्रत्येक वर्ष संविधान दिवस मनाइँदै आएको छ । विज्ञहरूको भनाइमा, संविधान मुलुकका लागि बाधक नभई साधक भएकोले यसको रक्षा गर्दै सुधार र संशोधनमार्फत नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्ने बाटो खोल्न सकिन्छ ।
नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजय मिश्र ले संविधानलाई दीर्घ जीवन दिन संशोधन अपरिहार्य भएको बताए। उनले भ्रष्टाचार निर्मूल र सुशासन कायम गर्न संविधानलाई समयानुकूल बनाउनुपर्नेमा जोड दिए ।
संविधानविद् रामनारायण विडारी ले नेपालकै संविधान विश्वकै उत्कृष्ट संविधानमध्ये रहेको उल्लेख गर्दै यसको अपूर्ण कार्यान्वयनका कारण जनता निराश भएको बताए । उनले संवैधानिक परिषद्, न्याय परिषद्, निर्वाचन प्रणालीलगायतमा सुधार गर्न आवश्यक रहेको बताए ।
वरिष्ठ पत्रकार कनकमणि दीक्षित ले निर्वाचन तोकिएको समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिंदै संविधानको संरक्षण सबै नागरिकको दायित्व भएको टिप्पणी गरे। उनले लामो अस्थिरताले विदेशी हस्तक्षेप बढ्ने चेतावनी पनि दिए ।
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई ले संविधान दिवसले राखेका उद्देश्य राम्रा भए पनि कार्यान्वयनमा चुनौती रहेको बताए। उनले संविधानलाई संशोधन गर्दै नयाँ पुस्तालाई राजनीतिमा समाहित गर्न सक्ने वातावरण बनाउन आवश्यक रहेको धारणा राखे ।
अधिकारकर्मी अर्जनुबहादुर कार्की ले हजारौँको बलिदानीबाट प्राप्त संविधानलाई सम्मान र पालना नगरे मुलुक राजनीतिक दुर्घटनातिर धकेलिने चेतावनी दिए। उनले संविधानको रक्षा गर्दै समसामयिक सुधार गर्नुपर्नेमा जोड दिए।
विज्ञहरूको एकमत थियो– संविधानको रक्षा र कार्यान्वयन नै संघीय लोकतान्त्रिक गणतन्त्रको भविष्य सुनिश्चित गर्ने आधार हो।
प्रतिक्रिया