काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आजको नेपाली जनताले संविधानविरोधी गतिविधिलाई समयमा नै बुझ्न सकेमात्रै संविधानको रक्षा र विधिको शासन प्रवद्र्धन हुने विश्वास व्यक्त गरेका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई बधाई तथा शुभकामना दिँदै सभामुख घिमिरेले संविधान घोषणाको एक दशक पुग्न १० दिन बाँकी रहँदा जेनजी पुस्ताले गरेको आन्दोलनले समाज र राष्ट्रलाई नयाँ सोच, पारदर्शिता र सुशासनको चेतना दिएको उल्लेख गरे ।
उनले भ्रष्टाचार र कुशासन अन्त्यको माग अघि सारेका निर्दोष युवाहरूको विरोधलाई आधार बनाएर देशमा असामान्य स्थिति सिर्जना गरिएको र जननिर्वाचित सर्वोच्च विधायिकी संस्थालाई विघटन गर्ने गैरसंवैधानिक प्रयास गरिएको बताए ।
सभामुख घिमिरेका अनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मार्गचित्रलाई कार्यान्वयन गर्दै सङ्घ, प्रदेश र स्थानीय तहमा निर्वाचन सम्पन्न भई जनप्रतिनिधिहरूको सहभागितामा सरकार सञ्चालनको नयाँ प्रणाली अगाडि बढेको छ । यससँगै अधिकार प्रत्यायोजनसहित स्थानीय तह सबल बनेको र सेवा प्रवाह नागरिकको ढोकासम्म पुगेको उनले बताए ।
विगतमा पनि नेपाली जनताबाट खोसिएको अधिकार संसद्मार्फत पुनःस्थापित भएको स्मरण गराउँदै उनले लोकतान्त्रिक शासन प्रणालीको विकल्प अझ उन्नत लोकतन्त्र मात्रै हुनेमा जोड दिए ।
विसं २०७२ असोज ३ गते लामो सङ्घर्ष, त्याग र बलिदानको फलस्वरूप जारी भएको नेपालको संविधान मौलिक यथार्थ र लोकतान्त्रिक प्रणालीमा आधारित महत्त्वपूर्ण संवैधानिक दस्तावेज भएको सभामुख घिमिरेले स्मरण गराए। उनका अनुसार यस संविधानले विभेद र असमानताको अन्त्य गर्दै विविधतामा एकता, समान अधिकार र साझा गौरवको बाटो खोलिदिएको छ ।
प्रतिक्रिया