काठमाडौँ, । नेपाल कम्युनिष्ट पार्टी (एमाले) एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको बलिदानीबाट प्राप्त भएको संविधानलाई कमजोर बनाउन नदिइने बताएका छन् ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले संविधान मान्दैनौँ भन्दै विभिन्न गतिविधि हुनसक्ने भन्दै एमाले त्यसको रक्षाका लागि उभिने बताए । “हामी जनताको बलिदानीबाट प्राप्त गरेको संविधानलाई कमजोर हुन दिने छैनौँ । यसलाई मास्न दिने छैनौँ । यो हाम्रो अठोट र सङ्कल्प हो”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने ।
उनले निर्वाचित घोषणा भइसकेकाले आफ्ना केही असहमतिका बीच पनि पार्टी निर्वाचनको पक्षमा रहेको बताए । “हाम्रा आफ्नै कारणले पनि चुनौती देखिएका थिए । अरुले गर्दा पनि चुनौती देखिएका थिए । अब सबै चुनौतीको सामना गरेर अगाडि बढ्छौँ”, पोखरेलले भने ।
कार्यक्रममा पार्टी महासचिव शङ्कर पोखरेलले राजनीतिक दललाई कमजोर बनाएर लोकतन्त्र अघि नबढ्ने बताए । उनले ‘जेनजी’ प्रदर्शनका नाममा राजनीतिक दलका कार्यालयमा गरिएको आक्रमण लोकतन्त्रलाई कमजोर पार्ने सुनियोजित षडयन्त्र भएको बताए।
महासचिव पोखरेलले भदौ २४ गते सिंहदरबार लगायतका प्रशासनिक भवनमा गरिएको आक्रमण नेपालको पहिचानलाई समाप्त पार्ने षडयन्त्र भएको दाबी गर्दै राम्रो नीति र कार्यक्रम लिएर आउने दललाई संविधानले नरोकेकाले सोहीअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिए । “बलिदानपूर्ण योगदानबाट आएका राजनीतिक दललाई राजनीतिबाट निषेध गर्ने कुरा लोकतन्त्रमा स्वीकार्य हुन सक्दैन ।
नवयुवाको आन्दोलनका नाममा जुन प्रकारका उद्देश्य मिसाउन खोजियो ती लोकतन्त्रलाई कमजोर पार्ने क्रियाकलाप हुन् । राजनीतिक दललाई निषेध गरेर लोकतन्त्रलाई बलियो बनाउन सकिँदैन”, उनले भने । पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाहेक सबजसोै शीर्ष नेताहरू सहभागी हुनुभएको थियो ।
प्रतिक्रिया