काठमाडौँ, । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारहरूको पेसागत र भौतिक सुरक्षाका सम्बन्धमा राज्यका सम्बन्धित निकायसँग छलफल गर्ने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा आज आयोजित हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा मन्त्री खरेलले पत्रकारहरूको सुरक्षा व्यवस्थाका विषयमा गृहमन्त्रीलगायत सम्बन्धित निकायसँग छलफल गर्ने बताए ।
उनले गत चैत १५ गते काठमाडौँ तीनकुनेमा भएको प्रदर्शनको समाचार सङ्कलन गर्ने क्रममा पत्रकार सुरेश रजकको निधन भएको घटनाबारे छानबिन वा उचित न्यायका लागि पहल गर्ने बताए । रजकसँगै विभिन्न आन्दोलन एवं प्रदर्शनका क्रममा मृत्यु वा घाइते भएका पत्रकारका विषयमा समेत छानबिन गर्ने उनको भनाइ थियो ।
यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारबाट एभिन्यूज टेलिभिजनका क्यामरापर्शन रजकलाई मरणोपरान्त प्रदान गरेको छ । मन्त्री खरेलले यस पुरस्कारले रजकसँगै स्व पत्रकारहरू हेम–सुनिलप्रति श्रद्धाञ्जली अर्पण गरे ।
“सम्मानले परिवारलाई धैर्यता र साहस दिन्छ, स्व पत्रकार रजकको न्यायका लागि मन्त्रालय तत्पर हुनेछ । गृहमन्त्रीसँग छलफलमा बसेर कुरा गर्नेछु । प्रधानमन्त्रीसमक्ष पनि यो कुरा पु¥याउने छु”, उनले भने, “पत्रकारको जीवन व्यवस्था परिवर्तन गर्दा होस वा सरकार परिवर्तन, प्राकृतिक वा मानव निर्मित जोखिम कुनै पनि कालखण्डमा जोखिम मालेर काम गरिरहेका हुन्छौ । गाँस, बास कपासको दुःख हुन्छ तर हामीले देश, राष्ट्र जनताका लागि कलम चलाइरहनुपर्ने, आवाजहरू दिइरहनुपर्छ । आफू मरेको थाहै हुँदैन, आफू अधिकारविहीन, आफू अन्यायमा परेका थाहै हुँदैन ।”
मन्त्री खरेलले सार्वजनिक सेवा प्रसारण नेपाल ९पिएसबी० लाई स्वतन्त्र, व्यावसायिक र आर्थिक रूपमा आत्मनिर्भर बनाउनुपर्नेमा समेत जोड दिए । “रेडियो नेपाल र नेपाल टेलिभिजन मर्ज हुनु पिएसबी हुनु हो भन्नेमा ढुक्क नहोऔँ । जिम्मेवार, जवाफदेही, स्वतन्त्र र व्यावसायिक पिएसबी बनाउँछौँ भन्नेमा मेरो विश्वास छ”, उनले भने ।
सो समारोहमा मन्त्रालयका सचिव राधिका अर्यालले स्व पत्रकार रजकको परिवारको मागअनुसार न्यायका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए । स्व पत्रकार रजकको परिवारले उक्त घटनाको दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग राखेका थिए ।
सार्वजनिक प्रशारण सेवा नेपालका अध्यक्ष डा महेन्द्र विष्टले सार्वजनिक सेवा रूपान्तरणको क्रममा रहेको उल्लेख गर्दै यस सेवालाई सही तवरले परिभाषित गर्नुपर्नेमा जोड दिए । त्यसका लागि आवश्यक आधार तयार गर्नका लागि सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।
नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष सुरेन्द्र पौडेलले पिएसबीको मर्मअनुसार पूर्ण सञ्चालन र बजेटको सुनिश्चितताको माग गरे । उनले बजेट सुनिश्चित नहुँदा नेपाल टेलिभिजनका पाँच वटै च्यानलको सञ्चालनमा कठिनाइ देखिएकातर्फ ध्यानार्कषण गराए ।
नेपाल टेलिभिजनका पत्रकारद्वय हेम भण्डारी र सुनिल सिंहको स्मृतिमा स्थापित रु एक लाख राशिको हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार २०६४ सालदेखि साहसिक पत्रकारिता गर्ने टेलिभिजन पत्रकारलाई प्रदान गरिँदै आएको छ । पुरस्कार हरेक वर्ष असोज ७ गते विशेष कार्यक्रमबीच प्रदान गरिँदै आएको छ ।
विसं २०६३ असोज ७ गते समाचार सङ्कलनका क्रममा ताप्लेजुङको घुन्सामा हवाई दुर्घटनामा नेपाल टेलिभिजनका हेम भण्डारी र सुनिल सिंहको निधन भएको स्मृतिमा हरेक वर्ष महासङ्घ टेलिभिजन प्रतिष्ठान शाखाले पुरस्कार प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया