नवलपरासी कारागारमा २२२ कैदीबन्दी फर्किए

नवलपरासी कारागारमा २२२ कैदीबन्दी फर्किए

काठमाडौं एक्सप्रेस

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीबन्दी फर्किने क्रम जारी छ ।

नवलपरासी कारागारमा अहिलेसम्म २२२ कैदीबन्दी फर्किएका कारागारका जेलर विकल श्रेष्ठले जानकारी दिए । उनका अनुसार गत भदौ २५ गते नवलपरासी कारागारबाट ५४६ कैदीबन्दी भागेका थिए ।

कैदीबन्दीले कारागारलाई आफ्नो नियन्त्रणमा लिएर कारागारबाट भागेका बताउँदै जेलर श्रेष्ठले १७ पुरुष र १२ जना महिला नभागी कारागारमा बसेका जानकारी दिए । कारागारको स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि प्रहरीले कैदीबन्दीलाई केही नगरी निस्किन दिएको थियो ।

कैदीहरू यसरी भागेपछि थप सजाय हुनसक्ने सूचना जारी गरी फर्किन अनुरोध गरेसँगै दैनिकजसो कैदीबन्दी कारागारमा फर्किन थालेका उनले बताए ।

नवलपरासी कारागारबाट भागेका कैदीबन्दीमध्ये ४० जना भारतीय नागरिक रहेका जनाउँदै जेलर श्रेष्ठले एकजना कारागार फर्किसकेका बताए । उनका अनुसार नवलपरासी कारागारका १३ जना कैदीबन्दी मुलुकका अन्य कारागारमा गएर हाजिर भएका छन् भने अन्य कारागारका छ जना यहाँ आएका छन् ।

केन्द्रीय कारागारबाट भागेका दुई जना मोरक्कोका र एक जना साउथअफ्रिकाका नागरिक कैदीबन्दी नवलपरासी कारागारमा रहेका जेलर श्रेष्ठले जानकारी दिए ।

Logo