‘जेन–जीले खोजेको पारदर्शिता र जवाफदेहितामा प्राथमिकता’: मन्त्री घिसिङ

‘जेन–जीले खोजेको पारदर्शिता र जवाफदेहितामा प्राथमिकता’: मन्त्री घिसिङ

काठमाडौं एक्सप्रेस

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेन–जी पुस्ताले अपेक्षा गरेको पारदर्शिता, जवाफदेहिता र उत्तरदायी सरकारी संयन्त्र निर्माणमा सरकार प्राथमिकताका साथ लागिरहेको बताएका छन्।

तीनवटा मन्त्रालयको नेतृत्व सम्हालिरहेका मन्त्री घिसिङले व्यस्त कार्यतालिका र ठूला परियोजनाहरूको अनुगमनका कारण सबै स्थानमा भौतिक रूपमा उपस्थित हुन वा सम्पर्क माध्यममार्फत तुरुन्तै प्रतिक्रिया दिन नसके पनि कार्यसम्पादनमा पूर्ण सक्रियता देखाइरहेको स्पष्ट पारेका छन्।

‘ठूला परियोजनास्थल र विकास कार्यहरूको प्रत्यक्ष अनुगमन, योजना र व्यवस्थापनमा व्यस्त हुँदा सबै फोन तुरुन्तै उठाउन नसक्दा क्षमायाचना गर्दछु,’ मन्त्री घिसिङले सामाजिक सञ्जालमार्फत भने, ‘यो व्यक्तिगत संवेदनाको कमी होइन, बरु दीर्घकालीन समृद्धि र दिगो विकासका लागि भइरहेको प्रयास हो।’

उनले जनताको सुझाव, सल्लाह, गुनासा वा योजना पठाउन आग्रह गर्दै यसका लागि नाम, ठेगाना, सम्पर्क नम्बर र आवश्यक कागजातसहित पठाउन अनुरोध गरेका छन्। जरुरी विषयलाई ‘URGENT/अत्यन्त जरुरी’ भनेर उल्लेख गर्न पनि आग्रह गरिएको छ।

मन्त्री घिसिङले निर्वाचन सम्पन्न गर्ने दायित्वसँगै क्षतिग्रस्त सार्वजनिक संस्थाको पुनर्निर्माण, तीन तहका सरकार र समुदायसँग निरन्तर संवाद गर्दै दिगो विकासलाई गति दिनुपर्ने परिस्थितिको उल्लेख गरे।

उनले थपे, “तपाईंहरूको समस्या र सुझाव कार्यालयमार्फत निरन्तर अनुगमन भइरहेको छ र प्राथमिकताका आधारमा समाधानतर्फ अघि बढाइनेछ।” जनताको माया, समर्थन र निरन्तर प्रेरणाले आफूलाई अझ सबल बनाइरहेको भन्दै मन्त्री घिसिङले कृतज्ञता व्यक्त गरेका छन्।

Logo