पन्ज्युनयाँ क्रिकेट लिग–४ असोज २० देखि हुने

पन्ज्युनयाँ क्रिकेट लिग–४ असोज २० देखि हुने

काठमाडौं एक्सप्रेस

बैतडी, । सर्वाधिक धनराशिको टेनिस बल क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका– ६ पन्ज्युनयाँमा हुने पन्ज्युनयाँ क्रिकेट लिग–४ यही असोज २० गतेदेखि हुने भएको हो ।

सुशितम युवा क्लबको आयोजना हुने प्रतियोगिताको प्रथम पुरस्कार रु दुई लाख २२ हजार रहेको क्लबका सदस्य अशोक सिंह कार्कीले जानकारी दिए । यस्तै प्रतियोगिताको उपविजेता टोलीले ६६ हजार पाउनेछ । सेमिफाइनलबाट बाहिरिने टोलीलाई १०÷१० हजार पुरस्कार दिइनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ११ हजार १११, सर्वोत्कृष्ट बलर र ब्याटरलाई सात हजार सात सय ७७, प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार १११ पुरस्कारको व्यवस्था रहेको आयोजक क्लबका सचिव जगदीशसिंह कार्कीले बताए ।

‘स्वास्थ्यका लागि खेल, एकताका लागि खेल’नारा दिएर सञ्चालन हुने प्रतियोगिताको टिम दर्ता खुल्ला गरिएको छ । सहभागी हुन चाहने टिमले असोज १७ गतेसम्म दर्ता गराइसक्नुपर्नेछ । टिममा चार जना खेलाडी गाउँपालिका बाहिरका पनि राख्न सकिने जनाएको छ ।

आयोजक सुशितम युवा क्लबले पन्ज्युनयाँ खेलमैदानमा गएको लगातार रुपमा क्रिकेट प्रतियोगिता गर्दै आएको छ । प्रतियोगिताले क्रिकेटको विकासमा टेवा पुग्ने क्लबका अध्यक्ष वीरसिंह कार्कीको विश्वास रहेको छ । यसअघि सम्पन्न तेस्रो संस्करणको उपाधि हुनैनाथ मालिकार्जुन क्रिकेट क्लबले ,दोस्रोको आयोजक सुशितम युवा क्लब र पहिलो संस्करणको दोगडास्टार क्लबले हात परेको थियो ।

Logo