म्याग्दी, । चालु आर्थिक वर्ष २०८२/८३ मा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरुबाट रु एक करोड १५ लाख आम्दानी गरेको छ ।
अन्नपूूर्णमा रहेका पर्यटकीयस्थल पुनहिल, भुरुङ्ग–तातोपानी, पाउद्वार र रातोपानी कुण्डमा प्रवेश शुल्क सङ्कलन, होटल र चिया पसल सञ्चालनका लागि आय ठेक्का लगाएर सो आम्दानी भएको गाउँपालिकाले जनाएको छ ।
पुनहिल, पाउद्वार र रातोपानीको आय ठेक्का सम्झौता भइसकेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो । उहाँका अनुसार भुरुङ्ग–तातोपानी कुण्डमा प्रवेश शुल्क सङ्कलन र चमेनागृह सञ्चालन गर्न रु ५० लाख एक हजारमा ठेक्का कबोलेको होटल हटस्पिरिङ इनसँग दसैँलगत्तै सम्झौताको तयारी भएको छ ।
अन्नपूूर्ण–६ स्थित पुनहिलमा प्रवेश शुल्क र चिया पसल सञ्चालनका लागि रु ५० लाख, पाउद्वार तातोपानी कुण्डको रु २५ लाख र रातातोपानीको रु तीन लाख न्यूनतम शूल्क कायम गरेर ठेक्का आह्वान भएको थियो ।
सबै पर्यटकीयस्थलको ठेक्कामा न्यूनतमभन्दा थोरै मात्र बढी कबोलेका व्यवसायीले अग्रिम रुपमा राजस्व जम्मा गरेर कानुनअनुसार १० प्रतिशत छुट पाएका छन् । रु ५० हजार आम्दानी हुने अनुमान गरिएको सेकार्कु तातोपानी, रु १५÷१५ हजार आय ठेक्काको रकम कायम भएको नारच्याङ र महभिर झरनामा चमेनागृह सञ्चालन गर्न कसैको पनि प्रस्ताव नपरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले बताए ।
गाउँपालिकाको खोप्रा क्षेत्रमा सञ्चालित होटललाई वार्षिक रूपमा व्यवसाय करबापत हरेकलाई रु ३० हजार र सार्वजनिक जग्गा प्रयोग गरेबापत रु ३६ हजार बहालबटौली कर लिने गरेको छ । गाउँपालिकाले मोहरेडाँडा, रुप्से छहरा, घोरेपानी, अन्नपूर्ण आधार शिविरको छोटेपा र हुमखोलालगायतका ठाउँमा रहेका होटल, रेष्टुरेन्ट तथा कफीसपबाट समेत व्यवसाय कर सङ्कलन गर्दै आएको छ ।
गत आर्थिक वर्षमा रु एक करोड ७२ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको अन्नपूर्णले पर्यटन क्षेत्रबाट मात्रै रु एक करोड २७ लाख आम्दानी गरेको थियो । चालु आर्थिक वर्षमा रु दुई करोड १२ लाख ७५ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको अन्नपूर्णमा पर्यटकीयस्थलको योगदान प्रमुख छ ।
पुनहिल र भुरुङ्ग–तातोपानीमा नेपालीलाई प्रतिव्यक्ति रु ५० र विदेशीलाई रु १५० प्रवेश शुल्क कायम भएको छ । घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, खयरलेक, रुप्से, नारच्याङ र महभिर झरना, विभिन्न ठाउँका तातोपानी कुण्डहरु रहेको यस गाउँपालिका–४ नारच्याङमा विश्वको दशौँ र नेपालको नवौँ अग्लो अन्नपूर्ण प्रथम हिमाल रहेको छ । पर्यटकीयस्थलको पूर्वाधार विकास, प्रचार–प्रसार र प्रवद्र्धन गर्दै स्थानीयको जीवनस्तर सुधारसँगै गाउँपालिकाको आन्तरिक राजस्व बढाउनतर्फ जोड दिइएको उनले बताए।
प्रतिक्रिया