काठमाडौँ, । नेपाल आज राजनीतिक रूपमा स्वतन्त्र छ तर व्यवहारमा र आत्मामा अझै दास छ । हामीले झण्डा र हात त उठायौँ, तर चेतना उठाउन सकेनौँ । देशको नाम लियौँ तर हृदयमा राष्ट्रको स्वरुप र नक्सा राख्न सकेनौँ । सङ्कटको घडीमा हामी प्रायः अरूलाई दोष दिन्छौँ –कहिले भारत, कहिले चीन, कहिले अमेरिका । तर सत्य के हो भने नेपाललाई कसैले हराइरहेको छैन; नेपाल आफैँ आफ्नै कमजोरीबाट हराइरहेको छ । राष्ट्र निर्माण बाह्य शक्तिले होइन, हरेक नागरिकको जागरूक चेतनाले सम्भव हुन्छ । तल उल्लिखित केही विषयले यो अवस्था सिर्जना गराउन सक्नेछ ः
आफैँबाट सुरु हुने शासन: अर्कालाई दोष दिन सजिलो छ, किनकि यसले हामीलाई आफ्ना कमजोरीको सामना नगरी जोगाउँछ । दोष दिने संस्कृतिले हामीलाई आलोचक बनायो तर सर्जक बनाएको छैन । सङ्कटको घडीमा हामीले आफैँसँग सोध्नु पर्छ–“मैले के गरेँ ?” नेताको प्रतीक्षा गरिरहेका छौँ तर नेता जन्माउने समाजको भूमिका बिर्सिएका छौँ । संविधान र नीति बनाइयो तर अनुशासन र चेतनाको निर्माण नगरी मात्र नारा घन्कायौँ । यही कमजोरी नै हाम्रो अस्थिरता र राजनीतिक असफलताको मूल कारण हो ।
भगवद्गीताले भन्छ– “उद्धरेदात्मनाऽत्मानं,” अर्थात् मानिसले आफैँलाई आफैँले उठाउनुपर्छ । नेपालको मुक्ति यही वचनमा निहित छ । बाह्य सहयोग वा सल्लाहले राष्ट्र बच्दैन; नेपालीको आत्मा जागृत हुनुपर्छ । जब किसानले आफ्नो खेत इमानदारीपूर्वक जोत्छ, शिक्षकले निष्ठापूर्वक पढाउँछ, न्यायाधीशले सत्य बोल्न डराउँदैन, युवाले राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन, त्यही दिन नेपाल जाग्नेछ । आन्तरिक आत्म अनुशासनका क्षणमा मात्र देश र शासन स्थायी हुन सक्छ ।
रणनीति र विवेक: नेपाल दुई विशाल देश बीच अबस्थित छ । यसको भौगोलिक स्थिति संवेदनशील छ, तर त्यही संवेदनशीलता अवसरमा बदल्न सकिन्छ । विदेशी शक्तिहरू स्वभावतः आफ्नो स्वार्थ हेर्छन्; त्यसमा दोष छैन । तर हाम्रो कमजोरी भनेको भविष्यको दृष्टिकोण, रणनीति र निर्णय क्षमतामा छ । यदि हामी भावनात्मक प्रतिक्रियाभन्दा बुद्धिमतापूर्वक योजना बनायौं भने कुनै पनि बाह्य दबाबले हाम्रो अस्तित्वलाई खतरा पु¥याउन सक्दैन । राष्ट्रको सुरक्षा रणनीति केवल प्रतिरोध होइन, पूर्वदृष्टि र विवेकपूर्ण निर्णयमा आधारित हुनुपर्छ ।
सिंहदरबारभन्दा बाहिर जन्मिने शासन: नेपालको शासन सिंहदरबारमा मात्र जन्मदैन, प्रत्येक घर र हृदयमा जन्मिन्छ । जब नागरिक आफ्ना दायित्वमा सत्य र निष्ठापूर्वक लागि पर्छन्, तब राष्ट्रको शासन स्वयम् पवित्र र बलियो हुन्छ । दोषको संस्कृतिले विभाजन ल्याउँछ भने योगदान र उत्तरदायित्वको संस्कृतिले एकता ल्याउँछ । अब समय आएको छ, अरूलाई दोष दिने संस्कृतिलाई छोडेर आफैँ सुधार्ने, आफ्ना जिम्मेवारीलाई आत्मसाथ गर्ने संस्कृतिको विकास गर्नुपर्ने छ । राष्ट्रको पुनर्जागरण दोषबाट होइन, दायित्व र योगदानबाट हुन्छ ।
नेतृत्व र युवा शक्ति: राजनीतिक नेतृत्वका दृष्टिले पनि अब समय आएको छ । शीर्ष तहका नेता र वरिष्ठ राजनीतिक दलका सदस्यहरूले सक्रिय राजनीतिबाट पछि हटेर सलाहकारको भूमिका निर्वाह गर्नु आवश्यक छ । युवा नेतृत्वलाई अगाडि आउन प्रोत्साहित गरिनुपर्छ, ताकि उनीहरूले देशका चुनौतीहरू नयाँ दृष्टिकोण र उत्साहका साथ समाधान गर्न सकून् । अनुभवको मार्गदर्शन र युवाको जोससँगै रहेमा मात्र नेपालले स्थिर, प्रगतिशील र सुसंगठित राष्ट्र बन्न सक्छ ।
अभिभावक र सन्तान: यस यात्रामा अभिभावकहरूको भूमिका अतुलनीय छ । आफ्ना सन्तानलाई दोष दिने संस्कृति र आलस्यको बाटो होइन, जिम्मेवारी र सक्रियताको पाठ सिकाउनु पर्दछ । अभिभावकले स्वयं पनि उत्पादक र जिम्मेवार नागरिक बन्नुपर्छ, ताकि आफ्नो उदाहरणबाट सन्तानमा सकारात्मक संस्कार विकसित होस् । जेनरेशन जेडले अब पर्खाइ नगरी सक्रिय भूमिका लिनुपर्छ, सोच मात्र होइन, कार्यमा अग्रसर हुनुपर्छ । युवाहरूले चेतना र साहसका साथ अगाडि बढे मात्र राष्ट्र उज्यालो हुनेछ ।
यस्तो हुन सक्छ उज्यालोको मार्ग: नेपाललाई अरु कसैले बाह्य शक्तिबाट बचाउन सक्दैन । यो शक्ति नेपालीको हृदयमा छ । नेपालीको मन र कर्ममा हुनु पर्दछ । हामीले आफैँलाई उठाउनु पर्छ, आफ्नो कमजोरी स्वीकार्नु पर्छ, आफ्नो बलमा विश्वास गर्नुपर्छ । अँध्यारोलाई दोष नदिनुहोस्, आफ्नै दियो बाल्नुहोस् । देश उज्यालो हुन्छ, जब हरेक नेपालीको मन उज्यालो हुन्छ । नेपालको मुक्ति नयाँ प्रणालीमा होइन, पुरानो आत्माको पुनर्जागरणमा छ । यही जागरणको क्षणमा नेपाल फेरि हिमालजस्तै दृढ, गङ्गाजस्तै पवित्र, र जनकजस्तै विवेकी हुनेछ । हरेक नेपालीले नेपाललाइ मन बचन र कर्मबाट बचाउनेछ । यदि नेपालीहरू अरुको दोष देख्न होइन, आफ्नो क्षमता र उत्तरदायित्व सम्झन सक्ने भए भने उनीहरु राष्ट्रदीप बन्न सक्छन् । एकपटक राष्ट्रले सबैको सामूहिक प्रयत्न मागेको छ । अर्को पक्ष कर्म र धर्मको समायोजन हो । देश उठाउन र जगाउन कर्मलाइ पुजा बनाउन पर्छ ।
कर्म नै पूजा: मानव जीवनको सार कर्ममा निहित छ, र कर्मको दिशा धर्मले निर्धारण गर्छ । धर्मबिना कर्म अन्धो हुन्छ, कर्म बिना धर्म निष्प्रभावी हुन्छ । यी दुई जब सन्तुलित हुन्छन्, तब जीवनमा शान्ति, शासनमा न्याय, र समाजमा स्थिरता बस्छ । नेपालको वर्तमान अवस्था हेर्दा देखिन्छ कि हामी धर्मको नाममा निष्क्रिय र कर्मको नाममा अविवेकी भयौं । कोही कर्म गर्छ तर उद्देश्य स्वार्थ हो, कोही धर्मका कुरा गर्छ तर व्यवहारमा कपट छ । यही असन्तुलनले नै देशमा अव्यवस्था जन्माउँछ । कर्म र धर्मको समायोजन भनेको यही असन्तुलनलाई सन्तुलनमा रूपान्तरण गर्ने आन्तरिक साधना हो ।
कर्मः समाजको गतिशील शक्ति: कर्म भनेको केवल काम होइन, चेतनासहितको प्रयत्न हो । श्रम, सेवा, सिर्जन– यी सबै कर्मका रूप हुन् । जब व्यक्ति आफ्नो कामलाई कर्तव्यका रूपमा गर्छ, त्यो नै सच्चा कर्म हो । नेपालको पुनर्जागरण कर्मको पुनव्र्याख्याबाट सुरु हुनुपर्छ । सरकारी कर्मचारीले आफ्नो कामलाई बोझ होइन, राष्ट्रसेवा मान्न सक्नु पर्दछ; किसानले माटोलाई पूजा ठान्नु पर्दछ; शिक्षकले पढाउने कामलाई आत्मअर्पणको अभ्यास बनाउनु पर्दछ; युवाले आफ्नो श्रमलाई राष्ट्र निर्माणको जिम्मेवारी ठान्नु जरुरी छ; त्यो क्षणमा नेपाल पुनः जीवित हुनेछ । कर्मले मात्रै शासन चल्दैन, तर शासनको आत्मा जाग्रत हुन्छ । कर्म नै शासनको मेरुदण्ड हो ।
धर्मः विवेकको दिशा: धर्म भनेको धर्मग्रन्थको अनुकरण होइन, विवेकको अभ्यास हो । धर्मले कर्मलाई दिशा दिन्छ, ताकि शक्ति असंयममा नजाओस् । भगवद्गीताले भन्छ–“स्वधर्मे निधनं श्रेयः, परधर्मो भयावहः ।” अर्थात् आफ्नो धर्ममा स्थिर रहनु नै श्रेष्ठ हो । आफ्नो धर्म भन्नाले आफ्नो कर्तव्य, आफ्नो सत्य, आफ्नो दायित्व हो । जब मानिस आफ्नो स्वधर्ममा अडिग रहन्छ, कर्म स्वतः पवित्र हुन्छ । नेपालमा धर्मको अर्थलाई सङ्कुचित गरेर मात्र धार्मिक अनुष्ठानमा सीमित गरियो । धर्म वास्तवमा जीवनको नीति हो, कर्मको दिशा हो । यदि शासन धर्ममा आधारित हुन्छ भने त्यसले न्याय ल्याउँछ; यदि केवल शक्ति र स्वार्थमा आधारित हुन्छ भने त्यसले अन्याय जन्माउँछ ।
कर्म र धर्मको असन्तुलनको परिणाम ः जब कर्म धर्मविहीन हुन्छ, तब दुराचरण जन्मन्छ; जब धर्म कर्मविहीन हुन्छ, तब ढोंग जन्मन्छ । आजको समाज यही दुई चरमबीच फसेको छ । कोही कर्म गरिरहेका छन् तर विवेक हराएका छन्; कोही धर्मको कुरा गर्छन् तर केही गर्दैनन् । नेपालमा धर्म र कर्मको सम्बन्ध पुनस्र्थापना नगरी सुशासन सम्भव छैन । धर्मले नीतिलाई शुद्ध बनाउँछ, कर्मले त्यसलाई कार्यान्वयन गर्छ ।
कर्मयोग र शासन: शासनको आधार पनि यही कर्मयोगमा निहित छ । कर्मयोगी नेता, कर्मचारी, वा नागरिकले आफ्नो कर्तव्यलाई आत्मिक रूपमा बुझ्छ । उसले शक्ति होइन, सेवा खोज्छ । श्रीकृष्णले अर्जुनलाई युद्ध गर्न भने तर घृणाले होइन, धर्मले प्रेरित भएर । यही सन्देश शासनका लागि पनि सान्दर्भिक छ । न्यायका लागि कार्य गर्नुपर्छ, व्यक्तिगत प्रतिशोधका लागि होइन ।
नेपालमा यदि नेतृत्व कर्मयोगमा आधारित भयो भने, त्यसले सत्ता होइन, सेवा निर्माण गर्छ । अनि शासन केवल व्यवस्थापन होइन, मूल्य संस्कारमा टेकेको प्रणाली बन्छ । कर्म र धर्मको एकीकृत चेतना साँचो नागरिक चेतना तब जाग्छ जब कर्म धर्ममा र धर्म कर्ममा मिसिन्छ । यदि नागरिकले आफ्नो कामलाई पूजा ठान्छ भने भ्रष्टाचार हराउँछ; यदि नेता आफ्नो जिम्मेवारीलाई साधना ठान्छ भने राज्य बलियो हुन्छ । कर्म र धर्मको समायोजन भनेको ‘कार्य नै प्राथना’ र ‘सेवा नै साधना’ बन्ने चेतना हो । जब हरेक नागरिकले आफ्नो कामलाई सेवा ठान्छ, त्यो राष्ट्रमा नैतिक शासन जन्मिन्छ ।
पारिवारिक र सामाजिक शिक्षाको भूमिका: कर्म र धर्मको संस्कार बाल्यकालमै सुरु हुनुपर्छ । अभिभावकले सन्तानलाई केबल परीक्षा पास गर्न होइन, कर्ममा निष्ठा र धर्ममा विश्वास राख्न सिकाउनु पर्छ । विद्यालयले ज्ञान मात्र होइन, मूल्यको शिक्षा दिनुपर्छ । जब समाजले नैतिकता र श्रमलाई बराबर सम्मान दिन थाल्छ, तब कर्म र धर्मको एकता स्थायी बन्छ । अन्ततः कर्ममै धर्मको तेज हो । कर्म धर्मको प्रत्यक्ष रूप हो, धर्म कर्मको आत्मा हो । दुबैको मेलले जीवन र राष्ट्र दुवैमा उज्यालो ल्याउँछ । नेपालमा शासन, समाज, र व्यक्ति– तीनै तहमा यही समायोजनको आवश्यकता छ । जब शासन धर्ममा, नागरिक कर्ममा, र समाज चेतनामा बलियो हुन्छ, तब नेपाल पुनः विवेक, न्याय र करुणाको प्रतीक राष्ट्र बन्छ । नेपाल बाँच्नेछ, उठ्नेछ र स्वाबलम्बी बन्नेछ जब कर्म र धर्म दुबै एउटै दिशामा बग्नेछ, जब काम सेवा बन्नेछ र सेवा नै पूजा बन्नेछ । सन्तान जिम्मेबार र चेतनशील बन्नेछन् र अभिभावक देशको निकासमा तल्लीन हुनेछन् । (लेखक नेशनल ल कजेजका संस्थापक प्राध्यापक हुनुहुन्छ)
प्रतिक्रिया