पर्सामा नौ सय ६३ उद्योग दर्ता

पर्सामा नौ सय ६३ उद्योग दर्ता

काठमाडौं एक्सप्रेस

वीरगञ्ज पर्सा। पर्सामा गत आर्थिक वर्षमा ९६३ वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । आव २०८०/८१ को तुलनामा गत आवमा ६६ वटा बढी घरेलु तथा साना उद्योग दर्ता भएका हुन् ।

आव २०८०/८१ मा भने ८९७ वटा घरेलु तथा साना उद्योग दर्ता भएका थिए । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत पवन पञ्जीयारले जिल्लामा घरेलु तथा साना उद्योग दर्तामा उत्साहजनक रहेको जानकारी दिए ।

“यहाँका महिला तथा पुरुषले नयाँ उद्यमशीलताको विकासको लागि अग्रसरता देखाइरहेका छन् , उनले भने, “आर्थिक नगरी भएकाले पनि नयाँ घरेलु तथा साना उद्योग दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको हो ।”

कार्यालयका अनुसार गत आवमा पर्सामा वाणिज्यतर्फ ७५८ जना उद्योग दर्ता भएका छन् । गत आवमा प्राइभेट फर्म दर्तातर्फ उद्योगमा ८८८ वटा, साझेदारी उद्योगतर्फ १५ वटा र प्राइभेट लिमिटेडतर्फ ६० नयाँ उद्योग दर्ता भएका हुन् ।

गत आवमा प्राइभेट फर्म दर्तातर्फ वाणिज्यमा सात सय ५३, साझेदारी फर्म दर्तातर्फ पाँच रहेका छन् । प्रमुख उद्योग अधिकृत पञ्जीयारका अनुसार गत आवमा उद्योगतर्फ एक हजार ५९८ वटा फर्मले नवीकरण गरेका छन् । वाणिज्यतर्फ एक हजार ३९२ वटा फर्मले नवीकरण गरेका छन् । गत आवमा २१० उद्योगको दर्ता खारेजी भएको छ ।

Logo