दमौली तनहुँ, । शुक्लागण्डकी नगरपालिका–४ मा जिपको ठक्करबाट घाइते एक बेबारिसे व्यक्तिलाई उद्धार गरी मानव सेवा आश्रम पोखरा लगिएको छ । जिपको ठक्करबाट घाइते नामथर वतन नखुलेका उनलाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारपश्चात् बिहीबार हेम्जास्थित मानव सेवा आश्रम लगिएको हो ।
शुक्लागण्डकीका युवा अभियान्ता शङ्कर पन्तको समन्वयमा उनलाई आश्रम लगिएको छ । जिपको ठक्करबाट बुधबार साँझ घाइते ती व्यक्तिलाई बुधबार नै जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र भर्ना गरिएको थियो । बेबारिसे अवस्थामा सडकमा हिँडिरहने उनलाई आश्रम पुर्याइएको पन्तले जानकारी दिए।
पन्तले भने, “उनको नाम, ठेगाना थाहा छैन, बोल्दा पनि बोल्नुहुन्न । यत्तिकै बेबारिसे अवस्थामा छाड्नुभन्दा मानव सेवा आश्रम लैजाने निधो गरेका हौँ ।” शुक्लागण्डकी नगरपालिकाको सिफारिसपत्रसहित उनलाई आश्रमको जिम्मा लगाइएको पन्तले बताउए । नगरपालिकाले नै एम्बुलेन्सको व्यवस्था गरिदिएको थियो ।
उक्त आश्रममा हाल एक सय ८२ जनाले आश्रय लिइरहेका छन् । त्यहाँ शारीरिक अपाङ्गता भएका, मानसिक अपाङ्गता भएका, कोही बिरामीले आश्रय लिइरहेका छन् ।
प्रतिक्रिया