राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल

राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल

काठमाडौं एक्सप्रेस

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल बुधबार राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालय निरीक्षण तथा अवलोकन पश्चात् आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौँ, । सरकारले निर्वाचनको वातावरण निर्र्माणका लागि राजनीतिक दलहरुसँग चरणबद्ध वार्ता र संवाद अघि बढाएको छ । जेनजी आन्दोलनको जगमा गठित वर्तमान सरकारले आगामी फागुन २१ मा घोषित निर्वाचन सम्पन्न गर्न तथा मुलुकमा सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणका लागि पहलकदमी लिएको हो । उक्त प्रयोजनका निम्ति सरकारले मंगलबार सर्वदलीय बैठक आयोजना गरेर सरकार र दलहरुबीचको वर्ता र संवाद अघि बढाएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मङ्गलवार सर्वदलीय बैठक बस्यो । प्रधानमन्त्री निवास बालुवाटारमा करिब पाँच घण्टा चलेको बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्नेगरी सरकार र राजनीतिक दलहरुबीच सकारात्मक छलफल भएको हो ।

सर्वदलीय बैठकमा भएका छलफलबारे सञ्चारकर्मीलाई जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलहरुबीचको संवादले निर्वाचनको माहोल बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार र राजनीतिक दलहरुबीच आज भएको छलफलबाट सरकार उत्साहित बनेको छ । यसले निर्वाचनको वातावरण बनेको छ । निर्वाचनको माहोल बनाउन राजनीतिक दल र जनेजनीलगायत सबै सरोकारवाला पक्ष उत्तिकै जिम्मेवार भएर प्रस्तुत भएका छन् ।”

बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले यसैका निमित्त मन्त्रीहरू, सुरक्षा निकायलगायत सबैले अहोरात्र खटिएर काम गरिरहेको उल्लेख गरेको उनको सचिवालयले जनाएको छ ।

सर्वदलीय बैठकमा खासगरी आगामी फागुन २१ गते घोषित निर्वाचन सम्पन्न गर्ने, सुशासन सन्दर्भ र भ्रष्टाचार नियन्त्रणबारे सघन रुपमा छलफल भएको सञ्चारमन्त्री खरेलले जानकारी दिए । “निर्वाचनको सन्दर्भमा गहन छलफल भएको छ । निर्वाचनको वातावरणका लागि सरकारले गर्ने कामको अवगत गराइएको छ”, सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री खरेलले भने, “राजनीतिक दलहरुकोतर्फबाट सूरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो छ, त्यसप्रति सरकार प्रतिवद्धताका साथ लागेको छ । निर्वाचनको लागि वातावरण बनाउन सरकारकोतर्फबाट भइरहेका तयारीबारे दलहरुलाई अवगत गराइएको छ ।”

मन्त्री खरेलले भने, “निर्वाचनको वातावरण बनाउनका लागि राजनीतिक दलहरुसँग भएको वार्ताबाट सरकार एकदमै उत्साहित बनेको छ र राजनीतिक दलहरुबाट असाध्यै सकारात्मक जवाफ आएको छ । उनहरुको अलिबढी चासो निर्वाचनमा सूरक्षाको वातावरण बनाउने कुराहरुमा छ, त्यसका निम्ति सरकारले वातावरण बनाउने तथा राजनीतिक दल र जेनजीहरुले पनि सघाएर निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्ने माहोल बनेको छ ।”

उनले निर्वाचनका लागि सुरक्षाको वातावरण बनाउन सरकारले दलहरुलाई संवाद र विश्वासमा लिएर सबैखाले पहलकदमी लिएको स्पष्ट पारे । उनले भने, “सबैभन्दा महत्वपूर्ण कुरा भनेको केहो भने राजनीतिक दलहरु र सरकारबीच सिधा संवाद हुनुपर्ने कुरा जनताबाटै आइरहेको थियो सोही कुरालाई आत्मसाथ गर्दै प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकारकोतर्फबाट राजनीति दलहरुलाई वार्ताका लागि बोलाएको हो । सरकारले जति राजनीतिक दलहरुलाई बोलाएको थियो उनिहरु सबै वार्तामा आएका छन् । छलफलमा सहभागी सबैको सकारात्मक कुरा आएको छ ।”

छलफलमा सहभागी राजनीतिक दलका नेताहरुले निर्वाचनमा सहभागी हुने बताएको उनले उल्लेख गरे । सञ्चारमन्त्री खरेलले भने, “सबैको सकारात्मक कुरा रहेको छ । साथै निर्वाचनमा भाग लिइरहदा सुरक्षाको वातावरण सरकारले मिलाउनुपर्छ भन्ने उनिहरुको बढी चासो छ । त्यस यसबाहेक सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा पनि छलफल भएको छ । अर्कोतर्फ जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाउने सन्दर्भमा पनि कुराकानी भएको छ ।”

सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारलाई जनता, राजनीतिक दल र राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको समेत समर्थन रहेको उल्लेख गरे । उनले अगाडि थपे “सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ, राजनीतिक दलले मत माग्ने र जनताले मतदान गर्ने वातावरण बन्नुपर्छ भन्नेबारे दलहरुले चासो र चिन्ता राखेका थिए । सरकारकोतर्फबाट निर्वाचनको सूरक्षाको वातावरण बनाउन सम्पूर्ण तयारी गर्छ, राजनीतिक दलहरुले ढुक्कसँग निर्वाचन प्रक्रियामा सहभागि हुनुपर्छ भनेर हामीले विश्वास दिलाएका छौँ ।”

मन्त्री खरेलले जेनजी आन्दोलनको भावनाअनुसार बनेको सरकारको एक महिनामा अवस्थालाई सामान्यीकरण बनाउन लागेको र राजनीतिक संवादको वातावरण बढेको उल्लेख गरे । उनले राजनीतिक दलहरुले पनि निर्वाचनका लागि वातावरण बनाउनुपर्ने र त्यसका लागि जेनजी युवाहरुले पनि सहयोग गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । यद्यपि जेनजी युवाहरुको मुद्दाहरु समयमै सम्बोधन गर्नुपर्ने दायित्व रहेको उनको भनाइ छ ।

“एकमहिनामा यो सार्वजनिक रुपमा सर्वदलीय बैठक मात्रै हो । सबैभन्दा पहिले राष्ट्रपतिको पहलमा दलहरुसँग संवाद भएको थियो । प्रधानमन्त्रीले यसअवधिमा शीर्ष राजनीतिक दलका नेताहरुसँग ‘वान अन वान’ पनि वार्ता गरेका छन् । उनिहरुको वार्ता र छलफलपछि आजको सर्वदलीय बैठक भएको हो ।”पछिल्लो १० दिनदेखि राजनीतिक दलहरुसँग निरन्तर वार्ता र संवाद भइरहेको छ तथा आजको छलफलले संवादहीनताको अन्त्य भएको सञ्चारमन्त्री खरेलको भनाइ थियो ।

Logo