गण्डकी प्रदेशमा ६५ सवारीसाधन चोरी, १७ मात्र भेटिए

गण्डकी प्रदेशमा ६५ सवारीसाधन चोरी, १७ मात्र भेटिए

काठमाडौं एक्सप्रेस

बागलुङ । गण्डकी प्रदेशमा सवारी साधन चोरी भएका सवारी सङ्ख्याको तुलनामा कमै मात्र भेटिएको छ । गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा चार पाङ्ग्रे दुई वटा सवारीसाधन चोरी भएको थियो भने दुई पाङ्ग्रे ६५ वटा चोरी भएको थियो ।

हराएका या चोरी भएका कूल ६५ सवारी साधनमध्ये १७ वटा हालसम्म फेला परेका छन् । हराएका मध्ये १ चार पाङ्ग्रे र १६ दुई पाङ्ग्रे गरी १७ वटा सवारी साधन मात्र फेला परेको हो । ४८ वटा सवारी साधन अझै खोजतलासको क्रममा रहेका छन् । 

चालु आर्थिक वर्षमा हालसम्म २ वटा सवारी चोरी भएको उजुरी दर्ता भएको छ ।  तर एउटा पनि फेला परेको छैन । पार्किङमा राखिएको समयमा, रातको समयमा घरबाटै सवारी साधन चोरी हुने सङ्ख्या बढ्दो छ । विसं २०८१ माघ ११ गते कुस्मा नगरपालिका ५ पर्वतका सुजन खत्रीको मोटरसाइकल बागलुङ नगरपालिका ३ गुठीको एक घरमा पार्किङ गरिएको स्थानबाट चोरी भएको थियो । सुजनले जिल्ला प्रहरी कार्यालय बागलुङमा मोटरसाइकल चोरी भएको भन्दै खोजतलासका लागि उजुरी दिएको भए पनि हालसम्म भेटिएको छैन । 

त्यसै गरी बागलुङकै साजन आचार्यको मोटरसाइकल बागलुङ कालिका मन्दिरको पार्कीङ स्थलबाटै मोटरसाइकल चोरी भयो । नवदुर्गाको समयममा कालिका मन्दिरमा पूजा गर्न पुगेका आचार्यको मोटरसाइकल चोरी हुँदै गरेको दृश्य सिसिटिभी क्यामेरामा कैद भएको छ । साजनले जिल्ला प्रहरी कार्यालय बागलुङमा मोटरसाइकल चोरी भएको भन्दै सिसीटिभी फुटेज सहित उजुरी दिएका छन् । तर, हालसम्म मोटरसाइकल भेटिएको छैन । 

गण्डकी प्रदेशको सबैभन्दा धेरै कास्कीबाट सवारी साधन हराएका छन् । त्यसपछि नवलपुर र त्यसपछि सवारी हराउनेको शीर्ष स्थानमा बागलुङ रहेको छ । गत आर्थिक वर्षमा कास्कीमा १ चार पाङ्ग्रे र ४१ वटा दुई पाङ्ग्रे सवारी हराएको उजुरी परेको थियो । त्यसमध्ये १ चार पाङ्ग्रे र १४ वटा दुई पाङ्ग्रे गरी १५ वटा फेला परे । २७ वटा दुई पाङ्ग्रे सवारी अहिले पनि हराएको सूचिमा छन् । चालु आर्थिक वर्षमा कास्कीमा हालसम्म सवारी चोरी भएको वा हराएको उजुरी परेको छैन । 

फेला परेका सवारी साधन प्रहरीले सवारी धनीलाई हस्तान्तरण गरेको छ । त्यसै गरी नवलपुरबाट १६ वटा दुई पाङ्ग्रे सवारी चोरी भएको भन्दै खोजी गरिदिन निवेदन परेको थियो । जसमध्ये हालसम्म एउटा पनि फेला परेको छैन । यो आर्थिक वर्षमा नवलपुरबाट एउटा दुई पाङ्ग्रे सवारी हराएको उजुरी परेको छ । 

गत आर्थिक वर्षमा बागलुङबाट १ चार पाङ्ग्रे र ३ दुई पाङ्ग्रे सवारी हराएको निवेदन परेको थियो । जसमध्ये १ चार पाङ्ग्रे र १ दुई पाङ्ग्रे सवारी फेला पारेर प्रहरीले सवारी धनीलाई हस्तान्तरण गरेको छ । चालु आर्थिक वर्षमा हराएको १ गरी ३ वटा दुई पाङग्रे सवारी अहिले पनि हराएको सूचिमा छन् । त्यसै गरी गत आर्थिक  वर्षमा तनहुँमा २ वटा दुई पाङ्ग्रे सवारी हराएको निवेदन प्रहरीमा परेको थियो । अहिलेसम्म दुवै हराएको सूचीमा छन् । गत आर्थिक वर्षमा म्याग्दीमा पनि एउटा २ पाङ्ग्रे सवारी हराएको थियो । हालसम्म भेटिएको छैन । 

हराएको सवारीको तुलनामा भेट्टिनको सङ्ख्या न्यून रहे जस्तै सवारी साधन चोर्ने व्यक्ति पनि भेटिएका छैनन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार भेट्टिएका सवारी व्यवारिसे अवस्थामा फेला परेका थिए । अघिल्लो आर्थिक वर्षमा बागलुङबाट हराएका १ चार पाङ्ग्रे र १ दुई पाङ्ग्रे सवारी फेला परे पनि सवारी चोरी गर्ने व्यक्ति हालसम्म फेला परेको छैन । सवारी साधन हराएको वा चोरी भएको जानकारी प्राप्त भएपछि संवेदनशील भएर सवारीसँगै चोरी गर्ने व्यक्तिको खोजी गर्ने गरेको उनले बताए ।

Logo