म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामाआमा समूहले देउसीभैलो खेलेर सङ्कलन गरेको रकम सडक निर्माणमा सहयोग गरेका छन् । तिहारको अवसरमा स्थानीय हिमाली आमा समूहले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमबाट रु दुई लाख गाउँमा सडक निर्माण गर्ने योजनामा सहयोग गरेका हुन् ।
गुर्जा म्याग्दीमा सडक सञ्जालको पहुँच नपुगेको एक मात्रै वडा हो । देउसी भैलोमा सङ्कल नभएको रु चार लाख नौ हजार रकममध्ये दुर्गम र विकट बस्तीको रुपमा परिचित गुर्जा गाउँमा सडक सञ्जालको पहुँच पुर्याउने योजनालाई रु दुई लाख सहयोग गरिएको आमा समूहका अध्यक्ष ज्ञानकुमारी छन्त्यालले बताए । गाउँमा छिटो मोटरबाटो जोडियोस भन्ने उद्देश्यले आमा समूहको बैठकबाट निर्णय गरेर उक्त सहयोग गरिएको उहाँले जानकारी दिए ।
आइतबार आयोजित एक कार्यक्रममा आमा समूहका अध्यक्ष छन्त्यालले वडा सदस्यद्धय गुनराम छन्त्याल र केआई सिंह छन्त्याललाई उक्त रकम हस्तान्तरण गरेका छन् । आमा समूहले मौलिककला र संस्कृतिको जगेर्नाका लागि सञ्चालन गरेको मौलिक देउसी भैलोबाट सङ्कलन गरेको दान रकमलाई सडक निर्माणको लागि सहयोग गरी नमूना काम गरेको वडा सदस्य गुनराम छन्त्यालले बताए ।
उनका अनुसार, उक्त रकम वडा कार्यालयमार्फत सडक निर्माण योजनाको अगुवाइ गरिरहेको गुर्जा विकासमञ्च पोखरालाई उपलब्ध गराइनेछ । धवलागिरि गाउँपालिका–२ लुलाङदेखि देउरालीहुँदै गुर्जाको भैँसीमाने खोल्सासम्म पुगेको सडकलाई विस्तार गरी गुर्जा गाउँसम्म सडकको पहुँच पुर्याउन करिब पाँच किलोमिटर सडकको ट्र्याक निर्माण गर्न बाँकी रहेको छ । यसअघि पनि सरकारी बजेटको अतिरिक्त स्वदेश तथा विदेशमा रहेका गुर्जावासीले गाउँमा सडक पु¥याउने योजनामा आन्तरिक स्रोत जुटाएरसमेत सडकको ट्र्याक विस्तारको काम गर्दै आएका छन् ।
चालु आर्थिक वर्षभित्र गुर्जा गाउँमा सडकको पहुँच पु¥याउने लक्ष्यकासाथ गाउँपालिका, प्रदेश र सङ्घीय सरकारबाट विनियोजन भएको बजेटलाई परिचालन गर्ने तयारी गरिएको गुर्जाका वडाअध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । उनका अनुसार लुलाङ–गुर्जा सडकका लागि यसवर्ष सङ्घीय सरकारले समपुरक बजेटबाट रु एक करोड ४० लाख, गाउँपालिकाले समपुरक साझेदारी बजेट रु ३५ लाख, सहरी विकास मन्त्रालयबाट रु तीन करोड र गण्डकी प्रदेश सरकारबाट रु ५० लाख बजेट विनियोजन भएको छ ।



प्रतिक्रिया