सबै वामपन्थीहरूलाई एउटै झण्डामुनि एकताबद्ध हुन प्रचण्डको अपिल

सबै वामपन्थीहरूलाई एउटै झण्डामुनि एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं एक्सप्रेस

काठमाडौं,। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा देखा परेका चुनौती र संकट समाधानका लागि सबै वामपन्थीहरूलाई एउटै झण्डामुनि एकताबद्ध हुन आह्वान गरेका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समाजवाद निर्माणको आधार तयार पार्न माओवादीसहितका वामपन्थी शक्तिहरूबीच एकता र साझा आन्दोलन अत्यावश्यक बनेको बताएका हुन्।

उनले भनेका छन्, देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरुबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ। राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै समाजवाद निर्माणको आधार तयार पार्न वामपन्थीहरूले साझा आन्दोलनमार्फत अघि बढ्नुपर्छ। प्रचण्डले देशमा देखिएका जटिलता, जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखा परेका चुनौतीलाई ऐतिहासिक जिम्मेवारीका रूपमा सम्बोधन गर्न अग्रगामी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमी आवश्यक रहेको बताएका छन्।

उनले थपे, म देशका सबै माओवादी धारासहितका वामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु। साथै संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्र र राष्ट्रिय स्वाधीनताका लागि सबै गणतान्त्रिक शक्तिलाई साझा मोर्चामा गोलबन्द हुन आह्वान गर्दछु।

Logo