नेपालगञ्ज, । नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको दोस्रो संस्करणको तयारीसँगै आज र भोलि पौडी प्रशिक्षकलाई तालीम आयोजना गरेको छ ।
यही कात्तिक १४ र १५ गते नेपालगञ्ज रङ्गशालाको पौडी पोखरीमा आयोजना हुने प्रतियोगिताका सन्दर्भमा स्थानीय विद्यालयका खेल प्रशिक्षकलाई सहभागी गराउन प्रशिक्षणको व्यवस्था भएको हो ।
प्रशिक्षार्थीलाई नेपाल पौडी सङ्घका प्राविधिक प्रतिनिधि विष्णु खड्का, अनिश महर्जन र दीपक सागर सिंहले तालीम दिँदै हुनुहुन्छ ।
बाँकेमा चन्दुराम चौधरी, दीपक परियारलगायतका सीमित प्रशिक्षकले निजी क्षेत्रबाट तारे होटलमा बनेका पौडी पोखरी र विभिन्न संस्थागत विद्यालयले सञ्चालनमा ल्याएका पौडी पोखरीमा प्रशिक्षण दिएर पौडी प्रतियोगिता सञ्चालन गर्दै आएका छन् ।
खेलकुद विकास समिमितिका प्रमुख महेश चन्दले राष्ट्रिय खेलकुद समितिका पौडी प्रशिक्षकमार्फत विद्यार्थीहरूलाई पौडी सिकाउन निजी क्षेत्रसँग साझेदारी गर्दै अगाडि बढ्न आवश्यक भएको बताए ।
एक सयभन्दा बढी खेलाडीका नाम दर्ता
नेपालगञ्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसीपको दोस्रो संस्करणमा १०० भन्दा बढी खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगितामा यु–८, यु–१०, यु–१२, यु–१४, यु–१७ र अतिरिक्त उमेर समूहमा प्रतिस्पर्धा हुनेछ ।



प्रतिक्रिया