नेपालगञ्ज–गुलरिया सडकमा चार ‘लेन’को पुल निर्माण हुँदै

नेपालगञ्ज–गुलरिया सडकमा चार ‘लेन’को पुल निर्माण हुँदै

काठमाडौं एक्सप्रेस

राँझा बाँके । नेपालगञ्ज–गुलरिया सडकखण्डअन्तर्गत खजुरा गाउँपालिका–३ पेडारी नालामा चार लेनको पक्की पुल निर्माण सुरु भएको छ । छ दशकअघि पेडारी नाला निर्मित पुल साँघुरो र जीर्ण भएकाले नवनिर्माण थालिएको हो ।

नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालयका सूचना अधिकारी कृष्ण पाण्डेका अनुसार रु आठ करोड ९६ लाख तीन हजार ४६८ मा निर्माण कम्पनीसँग चार लेनको पक्की पुल बनाउने सम्झौता भएको छ । आगामी वैशाख भित्रमा निर्माण पूरा गर्नेगरी सम्झौता भएको हो ।

एकतर्फी रूपमा सवारीसाधन सञ्चालन हुनेगरी पुलको एक भाग निर्माण नभएसम्म सवारी व्यवस्थापनका लागि पुरानो पुल नभत्काइने उनले बताए । हुलाकी सडक र खजुरा बजारको सडक विस्तारका क्रममा पनि निर्माण हुन नसकेको पुल चार लेनको बन्ने भएपछि बर्खामा बाँके र बर्दियाका सर्वसाधारणलाई यात्रा गर्न सहज हुने छ ।

Logo