भैरहवा रुपन्देही। उद्योगमा विद्युत् कटौती भएको बिरोधमा मन्तव्य राख्दै गर्दा ढल्नुभएका नेपाल ट्रेड युनियन महासङ्घ जिफन्ट नेपालका उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घले विद्युत् कटौतीको विरोधमा आयोजना गरेको कार्यक्रममा संस्थागत धारणा राख्नेक्रममा ढलेर जिफन्टका उपाध्यक्ष गौतमको आज यहाँ मृत्यु भएको हो ।
सम्बोधनका क्रममा विद्युत महशुल भुक्तानी नगरेको निहुँमा लाइन काटिदिँदा २५ हजार श्रमिकको रोजगारी गुमेको तथा उद्योगी व्यवसाय धरापमा परेको भन्दै उनि आक्रोसित देखिनुहन्थ्यो ।
‘श्रमिकलाई गुमाउन नचाहेको’ बताउँदै गर्दा उनको बोली लरबरिएको सुनिन्थ्यो भने ‘अतःयो कारणले…’ भन्दै गर्दा उनि ढलेको र तुरुन्तै अस्पताल पुर्याउँदा उनको निधन भइसकेको भन्ने दुःखद समाचर सुन्न परेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले जानकारी दिए ।
सो कार्यक्रममा करिब तीन मिनेट मात्र मन्तव्य राख्न भ्याएका उपाध्यक्ष गौतम अकस्मात ढलेपछि करिब १५ मिनेटभित्र नजिकको अस्पताल पुर्याइएपनि उनको निधन भइसकेको अस्पताल प्रशासनले जनाएको छ ।
वुटवल ज्योतिनगरका ६२ वर्षीय गौतमले मुलुकको ट्र्ेड युनियन आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दैआएका थिए । यस क्षेत्रका १३ वटा उद्योगमा विद्युत् कटौती भएको विरोधमा आयोजित उक्त कार्यक्रममा पनि उनले श्रमिक तथा मजदुरकै पक्षमा बोल्नुभएको सङ्घका अध्यक्ष आचार्यले जानकारी दिए ।



प्रतिक्रिया