‘गाउँ आएको मोटरबाटो’ लोकार्पण

‘गाउँ आएको मोटरबाटो’ लोकार्पण

काठमाडौं एक्सप्रेस

काठमाडौं : पत्रकार तथा लेखक फणिन्द्र लामिछानेको पहिलो उपन्यास ‘गाउँ आएको मोटरबाटो’ लोकार्पण गरिएको छ ।

आइतबार काठमाडौंमा एक समारोहकाबीच लेखक लामिछानेसहित पत्रकार तथा साहित्यकार मणि लोहनी र शहीद लखन थापा गाउँपालिकाका पूर्वप्रशासकीय अधिकृत जीवन आले मगरले संयुक्तरूपमा पुस्तक विमोचन गरे ।

लेखक लामिछानेले गाउँमा पनि प्रशस्त सम्भावना रहेको र पछिल्लो समय पूर्वाधार विकासले गाउँ फर्किएर केही गर्न सकिने सन्देश पुस्तकले दिन खोजेको बताए । शहीद लखन थापा गाउँपालिकामा जन्मेका उनले काठमाडौंदेखि गाउँसम्मको परिवेशलाई कथामा उनेका छन् ।

समारोहमा मणि लोहनीले पुस्तकले स्थानीय पुनर्जागरण र देशमै गर्न सकिने सम्भावनाहरू उजागर गरेको बताए । नेपाल सरकारका अधिकृत जीवन आलेले उपन्यासले विदेशभन्दा आफ्नै देश र गाउँमा फर्कन प्रेरणा दिने सन्देश बोकेको टिप्पणी गरे ।

रु. ४९९ मूल्य तोकिएको पुस्तकबाट प्राप्त आम्दानी ग्रामीण क्षेत्रमा विज्ञान तथा प्रविधि शिक्षाका लागि प्राविधिक कलेज स्थापनामा खर्च गरिने जनाइएको छ ।

Logo