काठमाडौँ, । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नवगठित पार्टी नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह र जनताको आशा र भरोसाको केन्द्र बनेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० र एकीकृत समाजवादीसहित विभिन्न १० वामपन्थी पार्टीबीचको एकता राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उनले जनताको मन र विश्वास जित्ने तथा देशको समस्या समाधान गर्न यो पार्टी अघि बढ्ने बताए ।
सहसंयोजक नेपालले भने, “आज हामीले एतिहासिक काम सम्पन्न र एतिहासिक सुरुवात गरेको छौँ । यसले सिङ्गो नेपाली राजनीतिमा तरङ्ग पैदा गर्नेछ । नेपाली जनताको आशा र भरोसाको केन्द्र बन्नेछ ।” मुलुक अहिले असाधारण परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले मुलुकका समस्या समाधान गर्न अन्य वामपन्थी शक्तिलाई एकतामा आउन आह्वान गरे ।
“ढिला नगर्नुस्, जनताको भावना र समयको महत्त्व बुझ्नुस्, आउनुहोस्, एकताबद्ध भएर अघि बढ्ने निर्णय गरौँ,” सहसंयोजक नेपालले भने ।
कम्युनिष्ट पार्टीको अगुवाइमा पञ्चायत र राजतन्त्र अन्य गरिएको, जनप्रतिनिधिबाट संविधान बनाइएको उल्लेख गर्दै उनले कम्युनिस्ट पार्टीको उपादेयता नसकिएको जिकिर गरे । “नेपाली राजनीतिमा इमान्दारिताको अभाव छ, आफ्नो व्यवहारबाट जनताको मन जित्नुपर्छ”, उनले भने, “मुलुक र जनताले भोग्नु परेको समस्या हल गर्न ध्यान केन्द्रित गर्नुपर्छ ।”
अब कमीकमजोरी स्वीकार्दै जनतामा नयाँ आशा, विश्वास र सङ्कल्प जगाउन सक्नुपर्नेमा जोड दिँदै सहसंयोजक नेपालले त्यसदिशामा नेपाली कम्युनिस्ट पार्टी सफल हुने बताए ।



प्रतिक्रिया