विराटनगर, । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किरात धर्मका महान् गुरु समाज सुधारक तथा सत्य, अहिंसा र नारी सम्मानका प्रवर्तक महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीका अवसरमा आज श्रद्धा अर्पण गर्दै शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री कार्कीले महागुरुको सत्य वचन, अहिंसा, परोपकार र नैतिक जीवनशैलीले नेपाली समाजलाई सहिष्णुता, एकता तथा सद्भावतर्फ अघि बढ्न प्रेरणा दिएको बताए । उनले बाल्यकालदेखि नै समाज सुधारमा लाग्नुभएका महागुरुको योगदानले किरात धर्म, संस्कृति र मौलिक परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
उनले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको चर्चा गर्दै सबै जात, भाषा, धर्म तथा संस्कृतिको संरक्षण र संवद्र्धन गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । फाल्गुनन्दको ‘सत्य बोल्ने, अहिंसा अपनाउने, नारीको सम्मान गर्ने’ सन्देश आज पनि जीवनपथका अमूल्य प्रेरणाका स्रोत भएको मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
उनले कोशी प्रदेश सरकार यहाँको भाषा संस्कृति लिपिको संरक्षण संवद्र्धनमा प्रतिबद्ध रहेको बताउँदै संवैधानिक व्यवस्थाअनुसार भाषालाई प्रदेशमा प्रयोगमा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।



प्रतिक्रिया