कमलामाई सिन्धुली। सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने चार जना गम्भीर घाइते भएका छन् ।
भिमानबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ४११ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ प २१४२ नम्बरको मोटरसाइकल तथा मप्र।०२–००६ प ५८४१ नम्बरको पल्सर मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुधौली नगरपालिका–११ टाडी निवासी ३४ वर्षीय रामकुमार कुमर र दुधौली नगरपालिका–३ निवासी २५ वर्षीय फुलबाबु धामीको उपचारका क्रममा दुधौली नगर अस्पताल सिर्थौलीमा मृत्यु भएको हो ।
त्यस्तै दुर्घटनामा दुधौली–३ का २६ वर्षीय विप्लव धामी, सोही ठाउँका २७ वर्षीय वुद्धि थारू, २५ वर्षीय सुनिल माझी र ३२ वर्षीय कुशे धामी घाइते भएका छन् । त्यसमध्ये तीन जनाको अवस्था गम्भीर रहेका जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख एवं प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार उनीहरू बोल्न समेत नसक्ने अवस्थामा छन् ।
दुर्घटनाग्रस्त मप्र।०२–००६ प ५८४१ नम्बरको मोटरसाइकलमा आगलागी भई पूर्ण रूपमा क्षति भएकोे छ । ट्रक चालक धनकुटा छथर जोरपाटी गाउँपालिका–६ निवासी २५ वर्षीय शेरबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते चारै जनालाई उपचारका लागि दुधौली नगर अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय डकाहाका प्रहरी निरीक्षक सपना खड्काले जानकारी दिए ।



प्रतिक्रिया