स्वास्थ्य सेवामा ललितपुर जिल्लाकै उत्कृष्ट बन्यो महालक्ष्मी नगरपालिका

स्वास्थ्य सेवामा ललितपुर जिल्लाकै उत्कृष्ट बन्यो महालक्ष्मी नगरपालिका

काठमाडौं एक्सप्रेस

काठमाडौंँ – ललितपुर जिल्लाका ६ वटा स्थानीय तहमध्ये महालक्ष्मी नगरपालिकाले स्वास्थ्य सेवा सुविधाको क्षेत्रमा उत्कृष्टताको उपाधि हासिल गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षाका आधारमा महालक्ष्मी नगरपालिकालाई उत्कृष्ट घोषित गरेको हो । स्वास्थ्य सेवाको गुणस्तर, पहुँच र प्रभावकारिताका सूचकका आधारमा महालक्ष्मीले अग्रस्थान प्राप्त गरेको नगर प्रमुख हरिगोविन्द श्रेष्ठले जानकारी दिए ।

 

नगर प्रमुख श्रेष्ठले यो उपलब्धि सम्पूर्ण नगरवासीको गर्वको विषय रहेको बताएका छन् । उनले भने, “यो उत्कृष्टताले नगरपालिकालाई अझ सुलभ, प्रभावकारी र गुणस्तरिय स्वास्थ्य सेवा विस्तार गर्न प्रोत्साहित गर्नेछ ।”

श्रेष्ठले जिल्लास्तरीय वार्षिक समीक्षामा महालक्ष्मी नगरपालिकालाई उत्कृष्ट घोषणा गरी सम्मानित गरिएकोमा धन्यवाद व्यक्त गर्दै भने, “यो उपलब्धि सम्पूर्ण स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी तथा समुदायको सामूहिक प्रयास र समर्पणको परिणाम हो । स्वास्थ्य सेवा क्षेत्रको निरन्तर सुधार र जनकल्याणका लागि दिनरात मेहनत गर्ने सबैमा हार्दिक आभार प्रकट गर्दछु ।”

महालक्ष्मी नगरपालिकाले सुलभ, प्रभावकारी र गुणस्तरिय स्वास्थ्य सेवा विस्तार गर्दै आएको छ । नगरपालिकाले “मेयर–जनता स्वास्थ्य कार्यक्रम” लगायतका विभिन्न जनमुखी पहलमार्फत नगरवासीलाई निःशुल्क तथा पहुँचयुक्त स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

यसैक्रममा बुधबार मात्रै नगरपालिकाले स्वास्थ्य बीमा बोर्डको सहकार्यमा इमाडोल स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना समेत गरेको छ, जसले वडा नं. १ देखि १० सम्मका बासिन्दालाई प्रत्यक्ष सेवा दिनेछ ।

Logo