बैतडी, । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोटअन्तर्गत आज भएको खेलमा कैलपाल क्रिकेट क्लब विजयी भएको छ । कैलपालले पाटन एकता समाजलाई ६ विकेटले हराएको हो ।
पाटनले दिएको १३३ रनको लक्ष्य कैलपालले १७ दशमलब ४ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । उसका लागि म्यान अफ दी म्याच भएका सन्तोष चन्दले अर्धशतकीय पारी खेले । उनले ५१ रन बनाए । यस्तै प्रदीप चन्दले ४० रनको योगदान दिए । बलिङतर्फ पाटनका किशोर बयानीले ३ विकेट लिए ।
यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा पहिला ब्याटिङ गरेको पाटनले २७ ओभरमा सबै विकेट गुमाएर १३२ रन बनायो । उसका लागि लक्ष्मण कार्कीले सर्वाधिक ३९ रन बनाए । बलिङतर्फ कैलपालका केशव नाथले ३ तथा आकाश चन्द र अमर चन्दले दुई दुई विकेट लिए ।
आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेतालाई रु एक लाख र उपविजेतालाई रु ५० हजार पुरस्कार प्रदान गरिने बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोकटीले जानकारी दिए ।



प्रतिक्रिया