महालक्ष्मीको खानेपानी संकट समाधानका लागि केयुकेएलसँग महत्त्वपूर्ण सम्झौता

महालक्ष्मीको खानेपानी संकट समाधानका लागि केयुकेएलसँग महत्त्वपूर्ण सम्झौता

काठमाडौं एक्सप्रेस

ललितपुर- महालक्ष्मी नगरपालिका वडा नं. १ र ४ को दीर्घकालीन खानेपानी समस्या समाधान गर्न बुधबार एक महत्त्वपूर्ण सम्झौता सम्पन्न भएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) सँग समन्वय गरी दुवै वडामा आवश्यक खानेपानी संरचना विस्तार, वितरण प्रणाली सुदृढीकरण तथा निरन्तर आपूर्ति सुनिश्चित गर्नका लागि सहकार्य अघि बढाइने नगर प्रमुख हरिगोविन्द श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका उप–प्रमुख लक्ष्मी महर्जन, वडा नं. १ का वडा अध्यक्ष छिरिङ लामा, वडा नं. ४ का वडा अध्यक्ष अमृत खत्री, प्रमुख प्रशासकीय अधिकृत अमित ढुंगाना, केयुकेएल ललितपुरका प्रमुख विजय विश्वकर्मा, केयूकेएलका आर्थिक तथा प्रशासन प्रमुख प्रकाश कुमार राई, वडा सदस्यहरू तथा केयुकेएलबाट सहभागी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो ।

सम्झौतापछि नगर प्रमुख श्रेष्ठले महालक्ष्मी नगरपालिकाका बासिन्दालाई सुरक्षित र पर्याप्त खानेपानी उपलब्ध गराउने कार्य उच्च प्राथमिकतामा रहेको बताउँदै आयोजनासँगको सहकार्यले समस्याको दीर्घकालीन समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

यस सहकार्यले वडा नं. १ र ४ का बासिन्दाले लामो समयदेखि व्यहोर्दै आएको खानेपानी अभाव अन्त्य हुने अपेक्षा गरिएको छ।

Logo