बाजुरा — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अस्पताल बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । हिमाली गाउँपालिका–६ मा निर्माण गरिएको प्रसुति केन्द्र भवन निर्माणमा गम्भीर अनियमितता फेला परेपछि उनीहरूलाई प्रतिवादी बनाइएको हो ।
आयोगले निमित्त कार्यालय प्रमुख अशोक कुमार सिंह, शिक्षा विकास तथा समन्वय इकाईका तत्कालीन इन्जिनियर सनेश कुमार चौरसिया, तत्कालीन सब–इन्जिनियर नरेश रावत, उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीलाई प्रतिवादी बनाएको छ ।
२०७५÷७६ मा २० लाख रुपैयाँ लागत अनुमान गरिएको भवन निर्माण कार्य उपभोक्ता समितिमार्फत अघि बढाइएको थियो । तर अख्तियारले गरेको अनुसन्धानमा भवन मापदण्डअनुसार निर्माण नभएको, महत्वपूर्ण संरचनागत काम अधुरो रहेको र केही काम कागजमै सम्पन्न भएको देखिएको छ ।
लागत अनुमानमा एल्युमिनियम झ्याल–ढोका राखिएको भए पनि स्थानीय काठ प्रयोग गरिएको, ट्रस, सिजीआई छाना, पत्थर मर्मत, झूटो छतजस्ता काम नगरी खर्च देखाइएको आयोगले जनाएको छ । साथै काम छाना तहसम्म पनि नपुगेको अवस्थामा सम्पूर्ण निर्माण पूरा भएको भन्दै झुटो विवरण पेश गरिएको र कागजी प्रगति देखाई रु १५ लाख ८ हजार ५५७ भुक्तानी दुरुपयोग गरिएको पाइएको छ ।
आयोगका अनुसार यसरी राज्यको सम्पत्तिमा प्रत्यक्ष क्षति पु¥याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ विपरीत कार्य भएकाले उनीहरूविरुद्ध सोही ऐनबमोजिम सजाय माग गरिएको छ ।
अख्तियारले यस्ता प्रकारका सार्वजनिक निर्माणमा हुने अनियमितता नदोहोरोस् भनेर सम्बन्धित सबै निकायलाई सतर्क रहन आग्रह गर्दै निरन्तर निगरानी र कारबाही जारी रहने जनाएको छ।



प्रतिक्रिया