ललितपुर — महालक्ष्मी नगरपालिकाले बालबालिकाको क्षमता विकास, सहभागिता अभिवृद्धि तथा बालमैत्री स्थानीय शासन (CFLG) कार्यान्वयनलाई सुदृढ बनाउन अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। शनिबार आयोजित कार्यक्रममा नगर क्षेत्रका सबै वडाबाट आएका बाल क्लब समितिका अध्यक्ष तथा पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको शुभारम्भ नगर उपप्रमुख लक्ष्मी महर्जनले गरिन्। अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले समावेशी, सुरक्षित र बालमैत्री नीतिलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्दै बाल अधिकार प्रवद्र्धनतर्फ नगरपालिका दृढतापूर्वक अघि बढिरहेको बताइन्।
उनले भनिन्, “विद्यालय, समुदाय र स्थानीय सरकारबीचको सहकार्यलाई सुदृढ गर्दै बाल अधिकार, सहभागिता र सुरक्षा सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध छ। आगामी दिनमा क्षमता अभिवृद्धि कार्यक्रम, बालमैत्री पूर्वाधारका पहल तथा बाल अधिकारसम्बन्धी नियमित अनुगमनलाई अझ व्यवस्थित रूपमा अघि बढाइने छ।”
अभिमुखीकरण कार्यक्रमअन्तर्गत सहभागी बाल क्लब पदाधिकारीहरूलाईले बालमैत्री स्थानीय शासनका आधारभूत मापदण्ड, बाल अधिकारका चार प्रमुख सिद्धान्त (बाँच्ने, विकास, संरक्षण र सहभागिता अधिकार), स्थानीय सरकारको भूमिका, वडास्तरमा बालमैत्री वातावरण विकास गर्ने उपाय बारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा बाल सहभागीता, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता भएका तथा अन्य सीमान्तकृत बालबालिकालाई बालमैत्री स्थानीय शासनको अवधारणामा समावेश गर्ने महत्वपूर्ण पक्षबारे पनि प्रस्तुति गरिएको थियो।
सहभागीहरूले वडास्तरमा बालमैत्री योजना, बाल सहभागिता अभिवृद्धि तथा बाल–अनुकूल कार्यक्रम विस्तारका लागि थप समन्वयको आवश्यकता रहेको सुझाव दिएका थिए।
कार्यक्रममा कार्यपालिका सदस्य, जिल्ला समन्वय समिति प्रतिनिधि, वडा अध्यक्षहरू, जनप्रतिनिधि तथा शिक्षकहरूको पनि उपस्थिति थियो।



प्रतिक्रिया