चरिकोट, । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सबै राजनीतिक दल सहभागी हुने विश्वास व्यक्त गरेका छन् ।
आइतबार कालिञ्चोक–८ सुनखानीमा कालिनाग माध्यमिक विद्यालयले आयोजना गरेको बधाइ तथा अभिनन्दन कार्यक्रममा उनले निर्वाचनका लागि वातावरण बनिसकेको उल्लेख गरे । उनले भने, “हाम्रो मुख्य लक्ष्य भनेको निर्वाचन हो, निर्वाचनको लागि सरकार तयार छ, सबै राजनीतिक दलले निर्वाचनमा भाग लिँदैछन् । सरकारले निर्वाचनको वातावरण बनाउछ, यो सन्देश देशभर फैलाउन जरुरी छ ।”
उनले सुशासनमा सम्झौता नगर्ने भन्दै छ महिनाभित्र अनुभूति हुनेगरी काम गर्ने विश्वास व्यक्त गरे । उनले जेनजी आन्दोलनको विरुद्धमा हुने कुनै पनि कार्य सरकारलाई शैह्य नहुने स्पष्ट पारे । उनले जेनजी आन्दोलनको जगमा बनेको सरकारले जेनजी आन्दोलनका घाइते र मृतकको योगदानलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री खरेलका अनुसार वर्तमान सरकारले भ्रष्टाचार कम गर्दै सुशासनलाई प्राथमिकता दिएको छ । उनले देशमा राजनीतिक दलको अत्यधिक सत्ता खेल र स्वार्थ केन्द्रित राजनीतिका कारण समग्र विकाससँगै शिक्षा क्षेत्रमा गम्भीर असर परेको उल्लेख गर्दै अब विकास र सुशासनलाई प्राथमिकतामा राख्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले भने, “देशमा स्थिर सरकार नबन्दा राजनीतिक दलको अस्थिर सत्ता–प्रतिस्पर्धा बढेर शिक्षा क्षेत्रदेखि समग्र विकाससम्म प्रभाव परेको छ । अब स्थिरता, गुणस्तरीय शिक्षा र सुशासनलाई प्राथमिकतामा राख्दै सबै दलले राष्ट्रिय जिम्मेवारी निर्वाह गर्न आवश्यक छ ।”
सञ्चारमन्त्री अभिनन्दित
सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेल आफ्नो गृह जिल्ला दोलखामा अभिनन्दित भएको छ । आइतबार दोलखा पुग्नुभएका सञ्चारमन्त्रीलाई कालिञ्चोकको सुनखानीस्थित कालिनाग माध्यमिक विद्यालयले भव्य स्वागतसहित अभिनन्दन गरेको हो ।
त्यसअघि सुनखानी पुगेपछि स्थानीयवासीले मन्त्री खरेललाई बाजागाजासहित स्वागत गरेका थिए । जिल्ला प्रवेश गरेलगत्तै मन्त्री खरेलले आफ्नै जन्मस्थानस्थित कालिनाग मन्दिरको दर्शन गरी पूजा अर्चना गरेका थिए । स्थानीयस्तरमा आयोजित बधाई तथा अभिनन्दन कार्यक्रममा मन्त्री खरेलले आफूलाई दिएको सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्ने बताए ।
मन्त्री खरेलले कालिञ्चोक गाउँपालिकाको कार्यालय निरीक्षण गरे । साथै उनले गाउँपालिका–७ मा आयोजित कार्यक्रममा सरिक भए । मन्त्री खरेलले जन्म घर पुगे । सो क्रममा उनले जिल्लाकै ज्येष्ठ नागरिक ९१०२ वर्ष उमेर० को आशिर्वाद लिए ।



प्रतिक्रिया