लुम्बिनी, । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ ।
प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ । कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाउने छन् । ती पत्रमा सातौँ अधिवेशन आह्वानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे पत्र र छैटौँ अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धीपत्र समावेश छन् ।
बैठकमा सभामुख तुलबहादुर घर्तीले प्रदेशसभा सदस्यहरूको उपस्थिति–अनुपस्थितिको जानकारी पेस गर्नुहुने कार्यसूची छ । त्यसपछि दलका तर्फबाट प्रदेशसभा सदस्यले शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहने सचिव पुनमगरले बताउनुभयो । हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्लासभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेका छन् । प्रदेश मन्त्रिपरिषद् बैठकबाट थप विधेयक प्रदेशसभामा पेस गर्नका लागि स्वीकृति दिएको छ ।
लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक पेस गर्न सरकारले स्वीकृत दिएको हो । लुम्बिनीमा गत भदौ ३१ गते छैटौँ अर्थात वर्षे अधिवेशन अन्त्य भएको थियो ।
यसअघि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाका लागि पेस गर्न केही विजनेस तयारी गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पेस गरेको प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक प्रदेशसभामा पठाउन बैठकले स्वीकृति प्रदान गरेको छ । सामाजिक विकास मन्त्रालयबाट दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक तथा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमसम्बन्धी कार्यविधि, २०८२ पनि बैठकले पारित गरेको छ ।



प्रतिक्रिया