ललितपुर – महालक्ष्मी नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रमसहित प्रारम्भ गरेको छ । प्रत्येक वर्षझैँ यस वर्ष पनि नोभेम्बर २५ (अन्तर्राष्ट्रिय महिला हिंसा उन्मूलन दिवस) देखि डिसेम्बर १० (मानव अधिकार दिवस) सम्म सञ्चालन हुने यो अभियानलाई नगर उपप्रमुख लक्ष्मी महर्जनले उद्घाटन गरेकी हुन् ।

‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नारासहित सुरु गरिएको अभियानमा नगरका १० वटै वडामा जनचेतनामूलक गतिविधि, कार्यक्रमहरू सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा बोल्दै उपप्रमुख महर्जनले लैङ्गिक हिंसा रोकथामका लागि समुदायकै सक्रियता र सहभागिता मुख्य आधार हुनुपर्ने उल्लेख गरिन् । “परिवारबाटै चेतना वृद्धि गर्दै समुदायसम्म सशक्त संदेश पु¥याउन सके मात्र हिंसा रोकथाम सम्भव छ,” उपप्रमुख महर्जनले भनिन् । उनले हिंसा सम्बन्धी उजुरी व्यवस्थापन, पीडितमैत्री सेवा, तथा सुरक्षित वातावरण निर्माणलाई नगरपालिका निरन्तर प्राथमिकतामा राखी अघि बढिरहेको जानकारी गराइन् ।
नगरपालिकाका अनुसार यस वर्षको अभियानमा विशेषगरी किशोरी, घरेलु हिंसा जोखिममा रहेका महिलाहरू, बालबालिकाहरू तथा प्रविधि पहुँच भएका र नभएका समूहबीच डिजिटल दुरुपयोग र अनलाइन हिंसा रोकथामसम्बन्धी प्रशिक्षण पनि समेटिएको छ । महिलामाथि हुने अनलाइन दुव्र्यवहार, गलत सूचना र साइबर हिंसा पहिलेभन्दा तीव्र गतिमा बढेकाले यस विषयमा विशेष ध्यान केन्द्रित गरिएको बताइएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमित ढुङ्गानाले स्थानीय तहले लैङ्गिक हिंसा रोकथामका लागि सञ्चालन गर्दै आएको ‘महिला तथा बालबालिका सहायता डेस्क’, ‘सामुदायिक सुरक्षा योजना’, तथा ‘सामाजिक परिचालक कार्यक्रम’ मार्फत प्रत्यक्ष रूपमा सहयोग पु¥याइरहेको बताए ।
यस्तै, वडा अध्यक्ष विश्वराज श्रेष्ठ र विजय लामाले वडास्तरीय अभियान, विद्यालयमा सचेतना कक्षा, पीडित पहिचान तथा सहजीकरण भूमिका प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताए । वरिष्ठ अधिवक्ता सुनीता रेग्मी पौडेलले कानुनी उपाय र पीडितका हक–अधिकारबारे जानकारी दिँदै, समयमै उजुरी दर्ता र प्रमाण संकलनको महत्त्व औँल्याइन् ।
कार्यक्रममा प्रहरी वृत्त सातदोबाटोकी प्रहरी नायब उपरीक्षक पुर्निमा चन्दले अभियानको सहजीकरण गर्दै प्रहरी प्रशासनले लैङ्गिक हिंसा रोकथामका लागि संचालनमा ल्याएका विभिन्न पहल, हेल्पलाइन, द्रुत सेवा र पीडितमैत्री प्रक्रियाबारे जानकारी गराइन्। उनले समुदाय–प्रहरी सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता पनि व्यक्त गरिन् ।
१६ दिने अभियानका विभिन्न कार्यक्रमहरू डिसेम्बर १० सम्म नगरैभर जारी रहने छन्।



प्रतिक्रिया