शेख हसीनाको अवामी लीगले देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा

शेख हसीनाको अवामी लीगले देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा

काठमाडौं एक्सप्रेस

काठमाडौं ,। बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीनाको अवामी लीग पार्टीले नोभेम्बर ३० सम्म देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ। गत नोभेम्बर १७ मा इन्टरनेशनल क्राइम्स ट्राइब्युनलले ७८ वर्षीया पूर्व प्रधानमन्त्री शेख हसीना र तत्कालीन गृह मन्त्री असदुज्जमान खान कमाललाई मृत्युदण्ड सजाय सुनाएको थियो।

अवामी लीगले आफ्नो अफिसियल ‘एक्स’(पूर्व ट्विटर) ह्यान्डलमार्फत जारी वक्तव्यमा आरोप लगाएको छ कि ट्राइब्युनलको फैसला मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले रचेको राजनीतिक ‘षड्यन्त्र’ को हिस्सा हो, जसको उद्देश्य हसीना र उनको दललाई आगामी फेब्रुअरीमा हुने आम निर्वाचनबाट ‘बाहिर’ राख्नु हो।

पार्टीले ट्राइब्युनललाई ‘अवैध’ भन्दै यसको फैसला अस्वीकार गरेको छ र मोहम्मद युनुसको राजीनामाको माग गरेको छ।

अवामी लीगले युनुस र उनका सहयोगीहरूलाई ‘मुक्ति विरोधी’ र ‘राष्ट्रविरोधी’ गतिविधिमा संलग्न भएको आरोप समेत लगाएको छ। पार्टीले स्पष्ट चेतावनी दिंदै भनेको छ, ‘बंगलादेशमा देखावटी चुनाव हुन दिइने छैन। यसको कुनै पनि मूल्य चुकाउनुपरे पनि कडा प्रतिरोध हुनेछ।’ 

एजेन्सी

Logo