काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले देश निर्वाचनमय बनेको भन्दै आगामी प्रतिनिधि सभा निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् । राष्ट्रिय युवा परिषदले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सबै राजनीतिक शक्तिहरू निर्वाचनमा सहभागी हुने मनसायसहित तयारी अवस्थामा रहेको उल्लेख गरे ।
मन्त्री घिसिङले निर्वाचनलाई अवसरको रूपमा लिन आग्रह गर्दै बुद्धि विवेक प्रयोग गरी सक्षम नेतृत्व छान्न युवासमेत सबै मतदातालाई अपिल गरे । ‘अहिले देश निर्वाचनमय बनेको छ । सबैले ‘इलेक्शनमा भाग लिन्छु’ भनेर आएको छ, यो खुसीको विषय हो,‘उनले भने, ‘अब इलेक्शन हुनु नै पर्छ, तोकिएको समयमा नै हुन्छ ।’
उनले मतदाताले सही नेतृत्व चयन नगर्ने र पछि असन्तुष्टि जनाउने प्रवृत्तिलाई त्याग्नुपर्ने आवश्यकता औँल्याए । ‘यो समय बुद्धि विवेक प्रयोग गर्ने हो । अवसर गुमेपछि ‘यो भएन, त्यो भएन’ भनेर मात्र बोल्नु समाधान होइन,मन्त्री घिसिङले बताए ।
मन्त्री घिसिङका अनुसार अब देशलाई विकास गुणस्तरमा अघि बढाउन सक्षम, युवापुस्तामैत्री र दूरदृष्टि भएका नेतृत्व आवश्यक छन् । उनले यसअघिका नेतृत्वले राजनीतिक परिवर्तन त गर्न सफल भए पनि विकासको नेतृत्व गर्न असफल भएको टिप्पणी गरे ।
उनले वर्तमान राजनीतिक संक्रमणबाट देशलाई स्थिर र विकासमुखी मार्गमा लैजाने नेतृत्व छान्नु अबको मुख्य जिम्मेवारी मतदाताकै हातमा रहेको बताए ।



प्रतिक्रिया