काठमाडौं एक्सप्रेस

म्याग्दी, । बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा आएको छ। पाँच घरमार्फत एकैपटक २१ जनासम्म पाहुनालाई बसोबास गराउन सकिने व्यवस्था मिलाइएको हो।

जुना खत्री, रश्मी चोखाल, सुजना चोखाल, युव गिरी र जमुना श्रेष्ठको घरमा सुरु भएको होमस्टेबारे समूहकी अध्यक्ष सीता खत्रीले गाउँमा आउने पाहुनालाई पारिवारिक वातावरणमा बस्न पाउने व्यवस्था मिलाउन उद्देश्य रहेको बताइन्। पर्यटकको संख्या बढेमा अन्य घरमा पनि सेवा विस्तार गर्ने योजना छ।

प्रत्येक घरमा पाहुनाका लागि छुट्टै कोठा, खाट–बेड, विस्तरा र व्यवस्थित शौचालयको व्यवस्था गरिएको छ। केही कोठाबाट धवलागिरि क्षेत्रमा पर्ने हिमालहरू दृष्टिगत हुने संचालकहरूको भनाइ छ। तोरीपानी प्रकृति, संस्कृति, जैविक विविधता र इतिहासका दृष्टिले महत्वपूर्ण बस्ती हो। मिश्रित समुदायका संस्कार–रहनसहन र ग्रामीण जीवनशैली नजिकबाट अवलोकन गर्न सकिन्छ।

होमस्टेमा स्थानीय गौरीया गुडुरा धानको भात, कोदो–फापरको ढिडो, रोटी, टिमुरको चटनी, लोकल कुखुरा, खसीको मासु, दूध–दहीलगायत स्थानीय परिकार चखाइने युव गिरीले जानकारी दिए। पाहुनाले यानीमाया, पञ्चे बाजा र भजनमा नाचगानसमेत गर्न सक्ने व्यवस्था छ।

तोरीपानी टिमुर (सिचुआन पेपर) उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ। टिमुरको चटनी यहाँको विशेष परिकार भएको होमस्टे सञ्चालक जमुना श्रेष्ठले बताइन्। फर्कँदा पाहुनालाई टिमुर, भटमास र भागो कोसेलीको रूपमा दिने चलन छ। एक रात बास बस्न रु १,५०० लाग्छ।

होमस्टे सञ्चालनका लागि इको हिमालयले तालिमसहित पूर्वाधारमा सहयोग गरेको छ। संस्थाले प्रत्येक घरलाई करिब रु ७० हजार बराबरको सामग्री र समूहलाई रु दुई लाख सहयोग गरेको निर्देशक नारायण ढकालले बताए। संस्थाले तोरीपानीमा टिमुरखेती विस्तार र बजारीकरणमा पनि सहयोग गर्दै आएको छ।

१,७५० मिटर उचाइमा रहेको तोरीपानीबाट धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मानापाथीलगायत हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। सूर्योदय–सूर्यास्तका बेला हिमाल सुनौलो हुने दृश्य विशेष आकर्षण मानिन्छ। बेनी बजारबाट नौ किलोमिटर दूरीमा रहेको तोरीपानी करिब ३० मिनेट सवारीयात्रामा पुग्न सकिन्छ।

बेनी–अर्थुङ्गे–जामुनाखर्क–किराखोर खण्ड पक्की सडक भए पनि नेप्टेचौर हुँदै तोरीपानी जोड्ने सडक विस्तार तथा ग्राभेल निर्माण भइरहेको छ। तोरीपानीको आसपास टोड्के, ऐतिहासिक ढोलथान दरबार र पछै जस्ता धार्मिक तथा पर्यटकीय स्थल छन्।

ढोलथाना बाइसे–चौबिसे राज्यकालमा वर्षायामको राजधानी रहेको मानिन्छ। तोरीपानी हुँदै पैदल वा सडकमार्गमार्फत बेनी नगरपालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने टोड्के पुग्न सकिन्छ। फेदीमा मुक्तिक्षेत्रको प्रवेशद्वारको रूपमा गलेश्वर शिवालय अवस्थित छ।

Logo