योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन

योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन

काठमाडौं एक्सप्रेस

अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा व्यापक रूपमा विस्तार गर्न सकिए भ्रष्टाचार न्यूनीकरण गर्न सकिने बताएका छन्।

विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पुनले वर्तमान समाजमा मन शुद्ध पार्नु अत्यावश्यक भएको उल्लेख गरे। उनका अनुसार मन शुद्ध नभए लोभ, लालसा र घमण्डजस्ता नकारात्मक प्रवृत्ति बढ्ने र त्यसले भ्रष्टाचारलाई प्रश्रय दिने गर्दछ।

मन्त्री पुनले भ्रष्टाचार औषधिबाट मात्र नियन्त्रण गर्न नसकिने स्पष्ट पार्दै योग र ध्यान नै मन शुद्ध बनाउने प्रभावकारी माध्यम भएको बताए। “भ्रष्टाचार हटाउने कुनै औषधि बनेको छैन र बन्ने पनि छैन,” उनले भने, “तर योग र ध्यानले मनलाई शुद्ध बनाउँछ, जसले भ्रष्टाचार हटाउने दिशामा महत्वपूर्ण भूमिका खेल्न सक्छ।”

योग र ध्यानलाई टोलटोल तथा गाउँगाउँमा पुर्‍याउन सबैले सामूहिक प्रयास गर्नुपर्नेमा उनले जोड दिए। विद्यालयस्तरबाटै योग र ध्यानलाई प्रवर्द्धन गर्न निर्देशन दिइसकेको जानकारी दिँदै उनले योग र ध्यान पढाउने विषयभन्दा पनि अभ्यास गराउने विषय भएको बताए।

उनले विद्यालयमा शुक्रबारको दिनलाई पठनपाठनभन्दा बाहिरका अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने दिनका रूपमा अघि बढाउने विषयमा छलफल भइरहेको दाबी पनि गरे। यसले विद्यार्थीहरूमा नैतिकता, अनुशासन र मानसिक शुद्धताको विकास हुने विश्वास मन्त्री पुनको रहेको छ।

उनका अनुसार भ्रष्टाचारको जड मनको अशुद्धता भएकाले योग र ध्यानलाई सामाजिक जीवनको अभिन्न अंग बनाउन सके भ्रष्टाचार न्यूनीकरण गर्ने ठूलो सम्भावना देखिन्छ।

Logo