नेपालगञ्जमा सुशील कोइराला स्मृति भवन निर्माण

नेपालगञ्जमा सुशील कोइराला स्मृति भवन निर्माण

काठमाडौं एक्सप्रेस

राँझा (बाँके),। नेपाली कांग्रेस बाँकेले नेपालगञ्जमा सुविधासम्पन्न ‘सुशील कोराला स्मृति भवन’ निर्माण गरेको छ । कांग्रेसका पूर्वसभापति, पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाको स्मृतिमा भवन निर्माण गरी उनकै नामबाट नामाकरण गरिएको हो ।

कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलका अनुसार भवनको एउटा कोठालाई ‘सुशील कोइराला शयन कक्ष’ नाम दिइएको छ । स्व कोइरालाले नेपालगञ्जमा पार्टीको भवन निर्माण भयो भने त्यहीँ बसेर काम गर्ने इच्छा जाहेर गरेकाले उनको भावनाको उच्च सम्मान गर्दै शयन कक्ष निर्माण गरिएको उनले बताए ।

सभापति गौडेलले आफ्नो कार्यकालमा गरिएको बाचा र प्रतिबद्धता बमोजिम भवन निर्माण गरिएको स्मरण गराए । उनले छिट्टै भवनको प्राङ्गणमा सुशील कोइरालाको अर्धकदको शालिक निर्माण गरिने जानकारी दिए । भवन निर्माण समितिका संयोजक एवं पार्टीका जिल्ला उपसभापति गोपालप्रसाद अधिकारीले भवन निर्माणका लागि हालसम्म रु एक करोड २० लाख ८३ हजार रकम खर्च भएको जानकारी दिए।

उनका अनुसार भवन निर्माणका लागि विभिन्न क्षेत्र तथा व्यक्तिबाट अहिलेसम्म नगद, भौतिक तथा जिन्सी सामग्रीसहित रु एक करोड २५ लाख ७० हजार सहयोग प्राप्त भएको छ । जेष्ठ नागरिक तथा अपाङ्गमैत्री उक्त भवनमा ‘लिप्ट’को व्यवस्था गरिएको संयोजक अधिकारीले जानकारी दिए ।

Logo